

टुँडिखेल पुग्नुअघि पुलकित मन दुबोमाथि उभिँदा शान्त भयो । मकैको खोस्टा, गुराँस, पात, दुबो माला बनेर गलाभरि थिए । युद्ध जितेको सिपाहीसँग देखाउन केही नभए पनि मनभित्र कति हो कति खुसी । त्यही खुसीले टुँडिखेल भरिएको छ । छेउमै शान्ति स्तम्भमा शहीदहरु रखवार गरिरहेका छन् । लाग्यो, शहीदले बलिदानी दिनुअघि के सोचेथे कुन्नि ?
०००
लामो लस्कर । घाम भेट्न हिमाल उक्लिरहेका ‘पाकजोरा’जस्ता । कुनै बेला ‘जनसेना’ यसरी नै हिँडेँ । ओखरेनी, घामतारा, घमिरे, जलजला, गुरिल्लाले मैलाएका बाटो हुन् यी ।
शिद्धदेउता खुनास्सिएर बाटो छेकेपछि तितरबितर भएका पाकजोराजस्तै आफ्नै नेता खुनास्सिएपछि तितरबितर भएका जनसेना अचेल कता होलान् ?
०००
बैशाखको चर्को घाममा हिँडेर ओखरेनी पुग्दा झिसमिस भइसकेको थियो । ओखरेनी सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सीमा क्षेत्र पर्छ । डाँडामा उभिएर सोच्दा सबथोक बिर्साउँछ ओखरेनी । नगरपालिका र गाउँपालिका मिलेर जलजला ‘बेसक्याम्प’को रुपमा विकास गर्ने सोचिरहेको नेतृत्वलाई ओखरेनीको महत्त्व साँच्चै खलेकै हो त ?
कमरेड शेष बनावटी स्वागत गेटअगाडि गेटभन्दा पनि अग्लो भएर उभिएका छन् । उनका आँखा मोबाइलको उज्यालोमा बलिरहेका छन् । यद्यपि, वर्ग संघर्ष र जनयुद्धको लामो इतिहास भोगेका शेष त्यति उत्साहित देखिएका थिएनन् । कमरेडहरु लालसलाम ! जोडले मुठ्ठी उठाउन चाहन्थे शेष । ‘जनयुद्धबाट जे जति आर्जन भयो, यसैमा टेकेर समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्नतिर लाग्ने हो ।’ अमिलो मन बनाउँदै भए पनि सरकारी भाषा उनले भट्याए ।
‘मेस’ चलेको छ ओखरेनीमा । ठूलो आगोको मुस्लोभित्र दोहोरी गुञ्जिरहेका छ । लमजुङबाट पुगेका कवि प्रज्वल अधिकारी र रोल्पाकी देवी गुरुङ नारिएका छन्, दोहोरीमा । ‘किरेमिरे इन्सास राइफल’ गाएर आधा जोवन बिताएका पूर्वजनसेना क्षितिज मगर चोसेमोसे भएर धुवाँसँगै हराएका छन् । कुम जोडेर उभिएका कसैले ‘विप्लव’लाई बोलाउँदा क्षितिजले कान ठाडो बनाए । तर, चुल्ठे विप्लव देखेपछि हैरान भए । र खासखास खुसखुस गरे ‘अर्कै विप्लव रैचन्, विप्लव प्रतीक रे ।’
‘कालेकल्चु’ले पानी नछुँदै बैशाख १७ गते बिहानै उठ्यो ओखरेनी । तीन हजार पाँच सय मिटर अग्लो पहाड काट्न सबैले आवश्यक खजना जुटाए । राति अबेरसम्म आगो वरिपरि घुमिरहेका विप्लव बलियो लठ्ठी समाएर दरिएपछि बाबु त्रिपाठी, राज शाहहरु लथ्र्याकलुथु्रक भएर पछि लागे ।
०००
जलजला धुरीको शहीद स्तम्भ पुग्ने गरी ओखरेनीबाट उकालियो बाटो । लालीगुराँस निकै कम देखिएका थिए । सेतो, कलेजी, बैजनी रंगका गुराँसले ढकमक्क बनाएको घमिरे पाखालाई हेर्दा अद्भूत लागको बताए कवि विप्लव प्रतीकले । मन थाम्न नसकेपछि उनले भने, ‘प्रकृतिले कस्तो अद्भूत तरिकाले मिलाएर राखेको छ हगी ?’
‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि…’ विप्लव प्रतीकको यो चर्चित गीतको कथा सुन्दै जलजला पुग्दा क्यामेराभरी जलजला खाँदिइसकेको थियो ।
‘जलजला पुगेपछि रामबहादुर थापा ‘बादल’ले मेरो मृत्यु भयो भने यहीँ ल्याएर गाडिदिनु भनेको रे’ युद्धकालीन कहानी सम्झँदैछन् कथाकार नवीन विभास । हालका गृहमन्त्री बादलले जनयुद्धकै समयमा ‘सिज (सिस्ने जलजला) अभियान’ चलाएका थिए । जसको उभारले उनलाई नेतृत्वको माथिल्लो खुट्किला टेक्न सघायो ।
जलजला यात्रामा जनयुद्धका सम्झिनसक्नुका कहानी पनि सँगसँगै छन् । प्रकृतिको अद्भूत कलाकृति, धार्मिक सम्पदा, यी यावत कुराले यात्रा साँच्चै अविस्मरणीय बन्यो । कवि देवी नेपाल, स्नेह साय्मी, विप्लव प्रतीकसहित १०० भन्दा बढीको यात्रामा सबथोक छ ।
०००

जलजलाको टुप्पोमा बसेका छन् जनवादी गायक मोहित श्रेष्ठ, पूर्वजनसेनाका कमान्डर तथा साहित्यकार क्षितिज मगर र, पत्रकार तथा साहित्यकार नवीन विभास ।
‘भेटेर तिमीलाई, सोधुँ सोधुँ लाग्यो,
लेखेर तिम्रो गीत, गाउँ गाउँ लाग्यो,
प्यारो जलजला !’
अनायासै शहीद स्तम्भमा गुञ्जिएको गीतले सबैलाई भावुक बनायो । खुसी या बेखुसी जे होस्, शहीद स्तम्भमा रातो झन्डा जोडजोडले फरफरायो । शहीद स्तम्भ बनाउने जिउँदो होलान् ? झन्डा गाड्ने मान्छे कता होलान् ? शहीद स्तम्भलाई साक्षी राखेर हालेको जनयुद्धको भाका मर्यो, मारियो कि ! जसरी सकिए गाउँका सिलुक, जसरी सकिए गाउँका गीत ।
चुनु गुरुङ कहाँ जिउँदो छन् त ?
‘तिम्रै निम्ती बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला
मेरो प्यारो लाल किल्ला प्यारो जलजला ..।’
सैनिक हिरासतमा मारिएका चुनु गुरुङले जलजलालाई जनयुद्धको प्रतिविम्ब बनाएर गीत गाइन् । जलजलासँग चुनुजस्ता कैयौंको सपना मिसिएको थियो । जलजलामा फुलेका गुराँस भेटेर किन किन क्षितिज मगर उत्साहित छन् । व्यारेक जितेर सन्देश सुनाउन गाउँ छिरेको छापामारजस्तो । उनको चेहेरा साँच्चै हेरिरहुँजस्तै देखिएको छ ।
जनयुद्ध र रोल्पालीकै काँध टेकेर उक्लिएका नेताले जलजला र समग्र रोल्पाको विकासका लागि सोच्नुपर्ने र गर्नुपर्ने कति छ कति !
०००
जलजलामा कलकल पानी उसैगरी बगिरहेको छ । ‘जस्तापाता कसरी पुग्यो जलजलामा ?’ कवि स्नेह साय्मीले सोधे । सायद उनलाई यो मन परेन । जलजलाको सौन्दर्यतालाई जस्तापाताले अपहरण गरेको भन्दै कतिले व्यंग्यसमेत गरे ।
दश घण्टाभन्दा बढी भइसकेको छ पदयात्रा थालेको । ओखरेनी, घामतारा, घमिरे, जलजलासँग गफिँदा–गफिँदै पनि मनका अन्तरकुन्तरबाट भावना प्रवाहित भइरहेका छन् । थबाङ–जेल्बाङ बाटो जलजलालाई चिर्दै अघि बढेको छ । तीन हजार पाँच सय मिटर अग्लो ठाउँमा खोला बगिरहेको देख्दा सबै अचम्मित थिए ।
‘जलजलाको टुप्पोमा बसेर आफ्ना कविता वाचन गरुँला भन्ने कल्पना गरेको थिइन,’ कवि विप्लव प्रतीकले खुसी प्रकट गर्दे भने । उसो त बेखुसी कोही पनि थिएनन् ।
०००

ठाडै ओरालोले थबाङ मोह कम गरिदियो । लामो हिँडाइले पनि कतिलाई अप्ठ्यारो आभास भइरहेको थियो ।
थबाङ पुग्न आतुर मन बेखुसी भइदियो । कारण, अँध्यारोले थबाङलाई गम्लङ्ग छोपिदिएको थियो । ‘दिउँसो ३ बजेदेखि पर्खिरहेका छौँ,’ थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले भने । मकै र भटमासको अर्ग्यानिक स्वादले थबाङको खुला हृदय र सौहाद्रता बुझ्न सहज भयो ।
गुराँसले जुराएको यात्रा
जनयुद्ध केन्द्रको मानक बनाएको रोल्पामा साहित्य पनि फस्टाएको छ । साहित्यिक मन भएका मेयर पुरण क्षेत्री यसको मुख्य नायक छन् । मुख्य र सहनायककै संयोजनमा यतिबिघ्न कहानी अडिएको छ ।
अघिल्लो साल ‘बृहत् साहित्य सम्मेलन’ गरेर देशकै ध्यान तानेको रोल्पा नगरपालिकाले दोस्रो संस्करणको रुपमा ‘रोल्पा गुराँस साहित्य मेला’ आयोजना गरी फेरि साहित्यानुरागीलाई आकर्षित गर्यो । मुख्य आकर्षण मानिएको कविता ट्रफी १८७ जनालाई उछिनेर खोटाङका १९ वर्षीय मोहन सङ्ग्रामले उचाले ।
रोल्पाको विद्रोह र साहित्य, साहित्यमा प्रगतिशील चेत, रोल्पाको रैथाने संस्कृति, समकालीन कविता लेखनको परम्पराजस्ता बहसले रोल्पा मात्र होइन देशनै समेटियो ।
युद्धले रोल्पालाई जीवन दियो । कति लियो पनि । हिसाब नमिलेको धेरै भइसक्यो । खैर, छोडौं त्यो हिसाब पनि । मंगले बुढाले भुवनको अनुहार बिर्सिए कि सम्झिँदैछन् अझै । दिलकुमारीले दुई दुई श्रीमान् युद्धमा गुमाएपछि पनि बाँच्ने आँट त गरेकै छिन् । घरबार सबै युद्धमै धरेर झिँगा भन्केको बिस्कुनसँग कति बात मारुन् ? रोल्पाको माटोमा बगेको रगतसँग जलजलामा ढकमक्क फुलेको गुराँसको सौन्दर्य कहिलेसम्म मिसिएला ? भुइँ मान्छेहरुको आवाज उठाएको बन्दुकलाई अब कलमको पनि सहारा मिल्छ कि ?
श्रोतः नागरिक खवर