चाडबाडको फुर्सदमा ट्रेकिङको रमाइलो

चाडबाडको फुर्सदमा ट्रेकिङको रमाइलो

चाडबाडको समयमा घुमफिर गर्न खुबै रमाइलो हुन्छ । असोज–कात्तिक महिनाको सफा मौसममा घुमघाम गर्न अझ आनन्द आउँछ । यही घमाइलो मौसम र फुर्सदिलो समयको सदुपयोग गर्ने मुडमा हुनुहुन्छ भने हाइकिङ र ट्रेकिङको मजा लिन सकिन्छ ।
काठमाडौं उपत्यका आसपास मात्र नभै देशका विभिन्न स्थानमा छोटो दूरीका हाइकिङ गरेर पुग्न सकिने गन्तव्य प्रशस्त छन्, तर कतिपय मानिस चाडबाडको फुर्सदमा लामो दूरीको ट्रेकिङमार्फत पनि आनन्द लिन चाहन्छन् । 

annapurna-himalमन मिल्ने साथीहरूको समूह बाँधेर हिमाली क्षेत्रको ट्रेकिङमा निस्कँदा बेग्लै मजा आउँछ । प्राकृतिक सुन्दरतामा रमाउँदै नयाँ–नयाँ ठाउँका बारेमा जानकारी राख्न मात्र नभै शारीरिक स्फूर्तिका लागि पनि ट्रेकिङ उपयुक्त हुन्छ । यसरी घुमघाम गरेर चाडपर्व मनाउनेहरूको संख्या बाक्लै छ ।

लाजिम्पाटस्थित एल्टिच्युट रन्दोने ट्रेकिङ कम्पनीका कार्यकारी प्रमुख छेटुप तामाङ भन्छन्, ‘असोज–कात्तिक महिनामा नेपालीहरूलाई घुम्ने फुर्सद मिल्छ, त्यतिमात्र नभै चाडबाडको यो फुर्सदमा ट्रेकिङ नै जान रुचाउने नेपालीहरूको संख्या ठूलो छ ।’ गाइड र भरियाको सहायताबिनै जाने हो भने नेपालीहरूलाई सस्तो ट्रेकिङका प्याकेजहरू तयार रहेको तामाङले जानकारी दिए । पछिल्ला वर्षहरूमा ट्रेकिङमा रमाउने स्वदेशी पर्यटकको संख्या बढ्न थालेको उनले बताए ।

धेरै नेपालीको रोजाइमा रारा, लाङटाङ, मुस्ताङ, अन्नपूर्ण, घोरेपानी, मुस्ताङ, गोसाइकुण्ड, सगरमाथा बेसक्याम्प आदि ट्रेकिङ रुट पर्छन् । बजेट र साथीहरूको मेसो मिलाएर ट्रेकिङ हिँड्नेहरूले ती स्थानलाई पहिलो प्राथमिकतामा पार्ने गरेको व्यवसायीहरूको अनुभव छ । विदेशीहरूको जस्तो रुट अनुमति लिने झन्झट नभएकाले विन्दास घुम्न नेपालीहरूलाई कुनै अप्ठ्यारो छैन ।

हिमालय एक्सटेसी, ठमेलका प्रबन्धक अनिल भट्टराई भन्छन्, ‘नेपालीले ट्रेकिङ रुट र हावापानीका बारेमा मात्र बुझे पुग्छ, कानुनी झन्झट बेहोर्नु पर्दैन ।’ ट्रेकिङका क्रममा आइपर्ने शारीरिक असहजता तथा खानपानमा सजग भएर यात्रा तय गरे ट्रेकिङबाट भरपुर मजा लिन सकिने प्रबन्धक भट्टराई बताउँछन् । यस्तो यात्रा गर्नुपूर्व जीवन बिमा अनिवार्य मानिन्छ ।

रोजाइमा सगरमाथा आधार शिविर

विश्वकै शिर मानिने सगरमाथा उक्लिने मानिसहरू धेरै छन् । चुचुरोमै पुग्ने सबैको सपना त पूरा हुँदैन, तर आधार शिविर (वेसक्याप) सम्म पुगेर आनन्द लिन चाहनेहरूले चाडबाडको फुर्सदलाई सदुपयोग गर्न सक्छन् । आँखै अगाडि उभिएको सगरमाथा हेर्न सबैभन्दा उपयुक्त स्थल हो, ट्रेकिङ गरेर पुगिने ‘काला पत्थर’ । लुक्ला सगरमाथा आधारशिविर पुग्ने प्रवेशद्वार हो ।

समुन्द्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको लुक्ला, अझै उचाइमा पर्ने नाम्चे बजार घुम्न मात्र नभै बासस्थानका लागि पनि गज्जबका स्थान हुन् । कालापत्थरबाट ३ सय ६० डिग्रीमा हिमाल हेर्न सकिन्छ । यहाँ सुविधासम्पन्न होटलहरू नभए पनि कतिपय स्थानमा टी हाउस लजहरू छन् । पर्यटकहरूले त्यहाँ क्याम्प खडा गरेर पनि रात काट्छन् । १३ दिनको प्याकेजमा आधारशिविरको यात्रा पूरा गर्न सकिन्छ ।

प्याकेज

पहिलो दिन : काठमाडौंबाट लुक्लासम्म पुग्ने । सोही दिन तीन घण्टाको पैदल यात्रा गरेर फ्याकदिङमा पुगेर बास बस्ने । यो स्थान २६ सय ४० मिटरको उचाइमा छ ।

दोस्रो दिन : फ्याकदिङबाट नाम्चेबजार, खुम्बु क्षेत्रको ६ घण्टाको यात्रा गरी लजमा बास बस्न सकिन्छ ।

तेस्रो दिन : स्याङबोचे विमानस्थल क्षेत्र हुँदै खुमजुङ भिलेजबाट रमणीय दृश्य हेर्दै ६ घण्टाको यात्रा पछि टी हाउस लजहरूमा पुगेर बास बस्ने ।

चौथो दिन : पाँच घण्टाको यात्रा गरेर तेङबोचे पुगी बास बस्ने । तेङबोचे ३ हजार ८ सय ७० मिटरको उचाइमा छ ।

पाँचौं दिन : दिङबोचेसम्म पाँच घण्टाको यात्रा गर्ने र बास बस्ने ।

छैटौं दिन : लोबुचेसम्म पाँच घण्टाको यात्रा गर्ने । ४ हजार ९ सय १० मिटरको उचाइमा रहेको लोबुचेमा बासका लागि लजहरू उपलब्ध हुन्छन् ।

सातौं दिन : गोराकश्यपसम्म चार घण्टाको यात्रा गर्ने जहाँ बास बस्ने सामान्य लजहरू छन् ।

आठौं दिन : गोराकश्यपबाट सोझै कालापत्थर अर्थात् आधारशिविरसम्मको यात्रा आठ घण्टा लामो हुन्छ ।

कालापत्थर ५ हजार ५ सय ४५ मिटर उचाइमा छ । त्यहाँ डेन्ट खडा गरेर बास बस्न सकिन्छ ।

नवौं दिन : लोबुचे हुँदै पेङबोचेसम्म पाँच घण्टाको यात्रा गर्न सकिन्छ ।

दसौं दिन : तेङबोचे गुम्बासम्म चार घण्टाको यात्रा सम्पन्न गर्ने ।

एघारौं दिन : नाम्चेबजारसम्म पाँच घण्टा यात्रा गरेर बास बस्न सुविधायुक्त स्थान पुग्न सकिन्छ ।

बार्‍हौं दिन : सात घण्टा हिंडेर लुक्लामा आएर बास बस्न सकिन्छ । भोलीपल्ट ४५ मिनेटको जहाज यात्रा गरेर काठमाडौं उत्रन सकिन्छ ।

खर्च : ५० देखि ७० हजारसम्म प्रतिव्यक्ति तर ५ देखि १० जनाको समूह भए उत्तम हुन्छ । आधार शिविरसम्म पुग्न भरिया एवं गाइडको पनि आवश्यक्ता पर्ने हुँदा खर्चको रकम बढ्न सक्छ ।

 

लाङटाङले तानेको मन

गत वर्षको विनाशकारी महाभूकम्पका कारण ठूलो क्षति बेहोरेको लाङटाङमा पर्यटकको संख्या बाक्लिन थालेको छ । यहाँबाट आखैं अगाडि देखिने लाङटाङ लिरुङ हिमाल तथा केही पर देखिने लाङटाङ उपत्यकाको दृश्यले धेरैको मन तान्छ । चैत–वैशाखको समयमा ढकमक्क फुल्ने गुराँस तथा विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकन यहाँको अर्को आकर्षण हो ।

लाङटाङ उपत्यकामा घोडा तबेला वरिपरिको वातावरणमा पर्यटकहरूले प्रशस्त आनन्द प्राप्त गर्छन् । तिब्बतसँग सिमाना जोडिएको लाङटाङ लिरुङ हिमाल समुद्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाइमा रहेकाले यो क्षेत्र हिउँ खेल्न उपयुक्त मानिन्छ । स्याफ्रुबेसीबाट पैदल यात्रा गरेर पुगिने लाङटाङका लागि ८ देखि १० दिनको प्याकेज उपयुक्त हुन्छ । यात्राका क्रममा बाटोमा प्रशस्त टी हाउस लजहरू भेटिन्छन् । क्याम्पमा बस्नुभन्दा टी हाउस लजमा बस्नु सुरक्षित तथा कम खर्चालु हुन्छ । राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले त्यहाँ ठूला होटलहरू छैनन् ।

प्याकेज

पहिलो दिन : काठमाडौंबाट सात घण्टाको बस यात्रा गरेर स्याफ्रुबेसी पुगेर बास बस्ने ।

दोस्रो दिन : स्याफ्रुबेसीबाट ६ घण्टा पैदल हिँडेर लाङटाङ खोला हुँदै दोभान वा लामा होटलमा पुगेर लजमा बास बस्ने ।

तेस्रो दिन : लामा होटलबाट लाङटाङ भिलेज हुँदै ५ घण्टाको यात्रा गरेपछि लजहरू भेटिन्छन्, त्यहीं बास बस्ने । यो स्थान ३ हजार ४ सय मिटरको उचाइमा छ ।

चौथो दिन : लगभग तीन घण्टा हिँडेर क्यान्जिङ गुम्बा क्षेत्र पुगी बास बस्ने । आसपासका क्षेत्र घुमफिर गर्ने ।

पाँचौं दिन : क्यान्जिङ गुम्बा क्षेत्र हुँदै च्याकुरी पिकको ६ घण्टाको यात्रा सम्पन्न गर्ने । यो गुम्बा ४ हजार ९ सय ८० मिटरको उचाइमा छ । उक्त क्षेत्रमा टी हाउस लजहरू भेटिन्छन् ।

छैटौं दिन : क्यान्जिङ गुम्बा क्षेत्रको फेरो लगाउँदै ६ घण्टाको यात्रा गरी लामा होटल पुग्ने ।

सातौं दिन : लामा होटलबाट ठूलो स्याब्रुसम्मको ६ घण्टाको यात्रा तय गर्ने र टी हाउसहरूमा पुगेर बास बस्ने ।

आठौं दिन : ठूलो स्याब्रु हुँदै ६ घण्टा हिंडेर धुन्चे पुगेर

बास बस्ने ।

नवौं दिन : धुन्चेबाट सोझै काठमाडौं आइपुग्न सकिन्छ ।

खर्च : सामान्य खर्च गर्दा प्रतिव्यक्ति २० हजारदेखि ३२ हजार रुपैयाँसम्म लाग्छ । ५ देखि १० जनाको समूह ट्रेकिङका लागि उपयुक्त हुन्छ । भरिया र गाइड पनि लाने हो भने खर्च बढ्न सक्छ ।

अन्नपूर्णको फन्को 

अन्नपूर्ण ट्रेकिङ विश्वकै प्रख्यात गन्तव्य हो । यसका फरक–फरक रुट छन् । मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी आदि जिल्लालाई समेटेर निर्माण गरिएको अन्नपूर्ण ट्रेकिङ रुट विश्वकै उत्कृष्ट ट्रेकिङ रुट हो । यहाँ अन्नपूर्ण राउन्ड, अन्नपूर्ण सर्ट सर्किट, अन्नपूर्ण बेसक्याम्पलगायतका रुट धेरैको रोजाइमा पर्छन् । फुसफुसी उडिरहने हिउँ, भीर, पाखा–पहरा, ताल, झरना तथा कलकल बग्ने खोलाका दृश्यहरूमा रमाउँदै अन्नपूर्णको यात्रा गर्न सकिन्छ । बेसीसहरबाट सुरु हुने अन्नपूर्ण राउन्ड रुट सबैभन्दा रोमाञ्चक मानिन्छ । बेसीसहरबाट, बाहुनडाँडा, बुलबुले, ताल, चामे, मनाङ, पिसाङ हुँदै थोराङलासहित मुक्तिनाथको यात्रा करिब नौ दिनमा सम्पन्न हुन्छ । त्यसबाहेक अन्नपूर्णका अन्य रुट पनि छन् । उपल्लो मुस्ताङ, मनास्लु आदिका अन्य बाटा पनि यही पेरीफेरीमा पर्छन् ।

प्याकेज (अन्नपूर्ण बेसक्याम्प)

पहिलो दिन : काठमाडौंबाट नयाँपुलसम्म नौ घण्टाको बस यात्रा ।

दोस्रो दिन : नयाँपुलबाट ६ घण्टाको यात्रा गरेर क्यूमी अथवा हिमालपानी पुगेर बास बस्ने ।

तेस्रो दिन : क्यूमीबाट लगभग ६ घण्टा हिडेर छोमोरुङ हुँदै बेम्बो पुगेर बास बस्ने ।

चौथो दिन : बेम्बोबाट दोभान हुँदै ६ घण्टाको यात्रा गरेर माछापुच्छ्रे बेसक्याम्पमा बास बस्ने । माछापुच्छ्रे बेसक्याम्प लगभग ३ हजार ८ सय सय मिटरको उचाइमा छ ।

पाँचौं दिन : माछापुच्छ्रे बेसक्याम्पबाट एबिसीसम्म करिब तीन घण्टा हाइकिङ गर्ने ।

छैटौं दिन : ४ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प हुँदै आठघण्टाको यात्रा गरेर देउरालीको बाटो बेम्बो पुगेर बास बस्न सकिन्छ ।

सातौं दिन : बेम्बोबाट ६ घण्टाको यात्रा गरेर हिमालपानी (न्यू ब्रिज) अथवा क्यूमीमा बास बस्न सकिन्छ ।

आठौं दिन : क्यूमीबाट नयाँपुल (बिरेठाँटी) ५ घण्टाको यात्रा गरेर बास बस्न सकिन्छ ।

नवौं दिन : विरेठाँटीबाट सोझै पोखरा वा काठमाडौं फर्कन सकिन्छ ।

खर्च : २५ हजारदेखि ३० हजार रुपैयाँसम्म । रुटअनुसार खर्च घटबढ हुन सक्छ । गाइड तथा भरियाअनुसार खर्च तलमाथि हुन सक्छ ।

अन्नपूर्ण सेन्चुरी 

काठमाडौंबाट लमजुङको बेसीसहर हुँदै अर्को पनि यात्रा तय गर्न सकिन्छ । बेसीसहरबाट बुलबुले हुँदै चामेको रुट पनि रमाइलो छ । मनाङ, खर्क, थोराङपास, मुक्तिनाथ, जोमसोम हुँदै पोखरासम्मको रुट करिब १२ दिनमा पूरा गर्न सकिन्छ । अन्नपूर्ण सर्ट सर्किटका लागि ३ रात ५ दिनको प्याकेज तयार छ ।

घोरेपानी, पुनहिल

हरियाली जंगलको बीचमा रहेको घोरेपानी धेरै नेपालीको रोजाइमा पर्ने ट्रेकिङ गन्तव्य हो । पुनहिलको टावरसम्म पुगेर रमाउन यो भरपर्दो गन्तव्य हो । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्राले समेटिएको यो स्थान समुन्द्री सतहदेखि ३ हजार २ सय १० मिटरको उचाइमा छ । नेपालीहरूलाई लक्षित गरी घोरेपानी ट्ेरकका लागि आकर्षक प्याकेज तयार पारेर प्रवद्र्धनमा गरिरहेको माउन्ड फेस नेपालका प्रमुख सञ्चालक किसन अधिकारी भन्छन्, ‘ट्रेकिङप्रति नेपालीहरूको पनि आकर्षण बढ्न थालेकाले हामीले यो स्थानलाई प्राथमिकतामा राखेका हौं’, उनले भने, ‘यहाँबाट ८ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण तथा धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरा नजिकबाट नियाल्न सकिन्छ ।’

विशेषगरी कास्कीको बिरेठाँटी, उल्लरी, घोरेपानी, नयाँपुल, घान्द्रुक, म्याग्दीको नागी, महरे, फूलबारी, तातोपानी, घार तथा सिख हुँदै घोरेपानी पुग्न सकिने प्याकेजहरू तयार रहेको अधिकारीले जानकारी दिए, तर धेरैजसो पर्यटक पोखराबाट नयाँपुल हुँदै स्याउली बजार, घोरेपानी, पुनहिल अनि फेरि घोरेपानी हँुदै विरेठाँटी–नयाँपुलसम्मको यात्रामा रमाउने गरेका छन् ।

 

प्याकेज

पहिलो दिन : नयाँपुलबाट तिखेढुङ्गासम्म ५ घण्टाको यात्रापछि होटलमा बास ।

दोस्रो दिन : तिखेढुङ्गा देखि घोरेपानीसम्म ६ घण्टाको यात्रा पछि होटलमा बास । यो क्षेत्र २६ सय ७५ मिटरको उचाइमा छ ।

तेस्रो दिन : पुनहिलबाट टाडापानीसम्म सात घण्टाको यात्रापछि होटलमा बास ।

चौथो दिन : टाडापानीबाट घान्द्रुकसम्म चार घण्टाको यात्रा पछि होटलमा बास ।

पाँचौं दिन : घान्द्रुकबाट तीन घण्टाको यात्रा गरेर पुन: नयाँपुल त्यसपछि बस यात्रा मार्फत पोखरा ।

खर्च : २० हजारदेखि ३२ हजार रुपैयाँसम्म ।

घुमन्ते यात्री

श्रोतः http://bit.ly/2drapWs

1,191 पटक पढिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *