जनयुद्धको केन्द्र जलजलामा म पर्यटक

जनयुद्धको केन्द्र जलजलामा म पर्यटक

जलजला नामबाट क्रान्तिकारी धेरै गीत बने, फिल्म बन्यो। ती सबैमा जलजलाको नाम युद्धसँग जोडियो। अझ रोचकको कुरा त फिल्म हेर्नेले पनि वास्तविक ठाउँ जलजला हेर्न पाएनन्। जलजला भनेकै युद्ध हो कि जस्तो सन्देश दिएको फिल्मले वास्तविक ठाउँ नै किन समेटेन? आफैंले जलजलाको यात्रा गरेपछि यसको उत्तर पाएँ।

लिबाङका लागि काठमाडौंबाट हुने यात्रा असहज थिएन। बसबाटै बिहान ९ बजे सुरु भएको यात्रा १४ घण्टापछि रातको ११ बजे हामी ३० जना आन्तरिक पर्यटक लिबाङ झर्‍यौं। बसमा सँगै बसेका सुरेन्द्र राना र मैले कोठा सेयर गर्‍यौं।

भोलिपल्ट जलजला जाने क्रममा केही स्थानीय पनि थपिए। ५ वटा जिपमार्फत यात्रा सुरु भयो। साँघुरो, कच्ची उकालो बाटोमा अघि बढ्नुपर्ने जिप घरि घरि गियर परिवर्तन गर्दा पछाडि आउँथ्यो। त्यस्तो अवस्थामा त्यहाँ नपुगेकालाई डर लाग्नु स्वभाविक हो। 

‘ओ भयो भयो गुरू’ एक पटक सुरेन्द्र पनि आत्तिएर चिच्याए। जतिबेला जिप ब्याक हुँदा बाटो सकिनै लागेको थियो।

जिप यात्रा टुंगिएपछि भने ढुक्क भइयो। ‘अब ५ घण्टा हिँड्नुपर्छ’ पेवा गाउँमा पुगेपछि स्थानीयले भने। ‘सकिहालिन्छ नि’ मसँगै रहेका अर्का मित्र भरत रावलले फुर्काए। भुटेको मकै, चिया खुवाए। उकालो हिँड्न सहज होस् भन्दै सबैले एक एक वटा लठ्ठी पनि लिए।

सुरुआतमा सबै लस्कर लागेर हिँडे पनि उकालो यात्रा बढ्दै जाँदा समूह समूहमा विभाजन भइयो। छिटो हिँड्न सक्ने अगाडिको समूहले बेलाबेलामा हामीलाई पर्खिन्थ्यो, ढिलो हिँड्नेलाई हामीले बेलाबेलामा पर्खिन्थ्यौँ।

बैशाख महिना, झरेका पातहरुमा खस्राङखुस्रुङ पाइला बजाउँदै करिब ३ घण्टा उक्लिएपछि ओख्रेनी पुग्यौँ।  हामी पर्यटकलाई स्वागत गर्न स्थानीयहरु फूलमालासहित लामबद्ध थिए।

त्यहीँको घरमा हामीलाई उसिनेको आलु खुवाउने कार्यक्रम थियो। आलुसँगै दिइएको टिमुर र अदुवा मिसाइएको नुनको धेरैले प्रशंशा गरे।

पानी पर्न थाल्यो। ‘धन्न ओत भएकै ठाउँमा परिएछ’ गाइड गरेका स्थानीयले भने, ‘अब यहाँबाट हिँडेपछि पानी पर्यो भने त बाटोमा ओत लाग्ने ठाउँ पनि छैन।’

‘पानी परिरहे त हिँड्न गाह्रो होला, बरू यही बास बसेर भोलि पो जानुपर्ला’ कसैले यस्तै यस्तै भन्थे। त्यसअघि हिँडेको उकालो र साँघुरो बाटोले थकाएको मेरो मनले पनि यस्तै खोज्यो। घडीमा साँझको ४ बजिसकेको थियो। पानी कम हुँदै गयो।

‘अब विस्तारै हिँड्न सुरु गरौँ, ४ घण्टामा त पुगिहालिन्छ’ स्थानीयले भने। ‘अझै ४ घण्टा?, अघि ५ घण्टा हिँड्नुपर्छ भन्नुहुन्थ्यो, ३ घण्टा त हिँडिसक्यौँ नि’ शरीर थाकिसकेकाले मैले प्रश्न गरेँ। ‘काठमाडौंबाट आउनुभाका सरहरुलाई अलि बढी नै ट्याम लाग्ने रैछ’ उनले भने ‘अघिजस्तै हिँडेपनि ४ घण्टामा त पुगिन्छ।’

हामी त्यहाँबाट हिँड्न सुरु गर्यौँ। आधा घण्टाको हिँडाईपछि फेरि पानी पर्न थाल्यो। ‘अहो अब पानी पर्यो भने त ओत लाग्ने ठाउँ छैन, रुझ्दै भए पनि पुग्नुपर्छ’ स्थानीय गाइडले भने।

लालिगुराँसका फूलहरुले जंगल ढकमक्क ढाकिएको थियो। राम्रो दृष्य आउनासाथ ‘ल ल एउटा फोटो हानिहालौँ त’ भन्दै पोजिसन तयार गर्नेहरुको कमी थिएन। सिमसिमे पानीका बाबजुत पनि फोटोको रहर छेकिएन। भरत र म पनि त्यसैगरी एकअर्काका फोटो खिच्दै हिँड्यौँ। उकालो यात्रा सुरु गर्दा सँगै भएका सुरेन्द्र पछाडिको समूहमा परेछन्।

कतै कतै तलमाथि हेर्दा रिङ्गटा लाग्ने पहरो आउँथ्यो।  बीचमा कोदालोले कोरिएको सानो बाटोबाट दुखेका खुट्टाले यात्रा गर्नु कम्ती कठिनाइ थिएन।

उकालो हिँड्दै गर्दा चिसो बढ्दै गयो। धन्न ठूलो पानी पर्न सकेन। झिमिक्क रात पर्यो, घडीमा ७ बज्यो जतिबेला हामी ‘सिज’ मा पुग्यौँ। यो समुन्द्रि सतहबाट ३ हजार ६३९ मिटर उचाईमा रैछ।

स्थानीयका अनुसार तत्कालीन माओवादीले युद्ध थालेको ठाउँको पहिचान कायम गर्न सिज स्तम्भ बनाइएको थियो। सि को अर्थ सिस्ने र जको अर्थ जलजला रे।

 वरपरका डाँडाभन्दा उच्च समथर भएकाले सिजमा पुगेपछि केही साथीहरु प्रफूल्ल भई नाचगान गर्न थाले। अर्कोतिर पछाडि परेको समूहलाई पर्खिनु पनि थियो।

पछाडि कति ग्रुप थिए, थाहा भएन। हामीपछिको ग्रुपले त्यही डाँडामा हामीलाई भेटायो, म सुरेन्द्रलाई हेर्दै थिएँ। उनी देखिएनन्। ‘डिएसएलआर क्यामेरा बोकेको झोला गह्रौं भएर हो कि पछाडि नै परेछन् क्यारे’ मनमनै सोँचे । तैपनि काठमाडौंबाट आएका भरत, शिक्षा लगायत मित्रहरु सँगै थिए। अँध्यारो भइसक्यो, डाँडाको पारिपट्टीबाट ओरालो झर्न थाल्यौँ।

‘अब अलि सजिलो हुने भयो’ कोही भन्दै थिए। कसैले प्रतिकार गर्दै थिए ‘ओरालो झर्दा झन् खुट्टा दुख्छ।’ कोहीले टर्च बाल्दै हिँडे, कोहीले पछ्याउँदै। स्थानीयसँग उनीहरुको काम, रहनसहन तथा युद्धका अनुभवबारे बुझ्दै हिँड्यौँ। ‘ऊ त्यै हो जलजला’ सिजबाट झरेको डेढ घण्टापछि स्थानीयले औंलाले देखाए।

बत्ती बलेको थियो भने केही निला टेन्टहरु देखिन्थ्यो। ‘तिनै टेन्टमा आज हाम्रो बास हुने होला’ भरतलाई भनेँ। ‘चिसोले मरिन्छ होला’ उसले भन्यो। 

यताकाले ‘वुऽऽइ’ गर्दै चिच्याए, जलजलामा बसेकाले पनि त्यही शव्दमा फर्काए। सिमसिम पानी पर्दै गर्दा साढे ९ बजेतिर जलजलाको फेदीमा पुग्यौँ। ‘लौ काठमाडौंबाट पनि साथीहरु आए वेलकम है वेलकम, झोलाहरु राखेर बसुम्’ भन्दै युवाहरुले स्वागत गरे। ठूला ठूला मुढाको आगो बालिएको थियो। त्यही आगोमा कसैले सेकुवा पोल्दै त्यसलाई लोकलऽऽको ‘सितन’का रुपमा लिँदै थिए। स्थानीयले हाम्रो १० जनाको ग्रुपलाई सुत्ने ठाउँ देखाइदिए र त्यही झोला राख्न भने। ‘अहो सुत्ने ठाउँ राम्रै रहेछ’ टेन्टको परिकल्पना गरेको मलाई चार पर्खालभित्र टिनको छानो राम्रै लाग्यो। सुकेको बाबियो खरमाथि दरी राखेर ओभानो बनाइएको थियो, प्रत्येकलाई स्लिपिङ व्याग थियो।

झोला राखेर लोकल ड्रिङ्स गर्नेहरु त्यतातिर लागे। खुट्टाका पिँढुला दुखेका थिए। खाना पनि तयार भइसकेकाले भरत र म खाईवरी सुत्ने तरखरमा लाग्यौँ। पछि अर्को ग्रप आइसकेपछि त्यो ठाउँ नपुग्ने हो कि भन्ने लाग्थ्यो। थाल लिएर खानाका लागि लामबद्ध भयौँ।

‘उभिएरै खाने त होला नि’ भरतले भन्यो। ‘अँ हुन्छ’ मैले भनेँ।  अगाडिका अरु स्थानीय पनि उभिएर खाँदै थिए। त्यसअघि परेको पानीले चउरमा पानी ओभाएको थिएन। ‘मासु काँचो काँचो रैछ’ मैले भरतलाई भने। भेज उसले ‘हो ? भात पनि अलि नपाक्या जस्तो रैछ’ उसले भन्यो। सुत्ने तरखरमा लाग्यौँ।

‘बत्ती बलेर निन्द्रै लागेन’ भन्दै कसैले बत्ती निभायो। बत्ती निभे पनि घ्र्याक घ्र्याक गर्दै बेलाबेलामा ढोकाको आवाज आइरहेको थियो। ‘ए यहाँ पनि ठाउँ भरिएछ’ भन्दै घ्र्याक्क ढोका लगाइदिएर फर्किने क्रम चलिरह्यो। अब ढोकाको ‘डिष्टर्ब’लाई हटाउने पनि कोही निस्कन्छ कि अनि बल्ल निन्द्रा लाग्ला मनमनै सोचे। म, भरतसहित ८/१० जना साथीहरु पल्टिरहेका थियौँ।

‘ओ उठओ है साथीहरु, अब गुफा जानुपर्छ’ अर्को दिन बिहान कसैले भनेको यही वाक्यमा म ब्युझिएँ। वरिपरि ३ जना साथीहरु मात्रै थिए। स्थानीयले हामीलाई गुफा घुमाउन लैजाने तयारी गरेका रैछन्। हाम्रो ग्रुपलाई स्थानीय जीवन रोकाले नेतृत्व गर्दै लगे।

पानीले भिजेको चउर  प्राय ‘जलजल’ भइरहने भएकाले नाम जलजला रहन गएको उनले बताए। जलजल जमिन टेक्दै हामी गुफा (वामापुब) पुग्यौँ। १२ बराह यहाँबाट उत्पत्ति भएर अन्य ठाउँहरुमा सरेका हुन् रे।

अब थबाङ जानका लागि हतार भयो। ‘ओरालो बाटो छ, ४ घण्टा हिँडेपछि पुगिन्छ’ स्थानीयले भने। तर हामीले ४ घण्टामा पुगिने कुरा पत्याउनै छाड्यौँ। ‘आउँदाको भन्दा अलि सहज रैछ बाटो, ४ घण्टामा त पुगिन्छ क्या हो’ भरतले भन्यो। बेलाबेलामा पानी परथ्यो, घरहरुमा ओत लाग्थ्यौँ।

हामी पुगेपछि जलस्रोत मन्त्री वर्षमान पुनः को आतिथ्यतामा कार्यक्रम सुरु भयो। सरकारले घोषणा गरेको पर्यटन वर्षका लागि उत्कृष्ट १ सय गन्तव्यमा जलजला परेको हो। सोही घोषणाको कार्यान्वयनलाई मन्त्री पुनले औपचारिकता दिए। काठमाडौंबाट गएका हामी ३० जना आन्तरिक पर्यटक नै पहिलो चरणका थियौँ।  

भोलि विप्लवको नेपाल बन्द, थबाङको डाँडामा राति राँके जुलुश देखियो। ‘रोल्पातिर बन्दको प्रभाव कडै पर्छ होला’ मैले भनेको कुरामा भरतले भन्यो ‘अँ यतातिर कार्यकर्ताको उपस्थिति राम्रै छ रे त्यसमाथि आज मन्त्री पनि आएको दिन’। भोलि साँझ ५ बजेतिर मात्रै थबाङबाट हिँड्ने मोटामोटी योजना बन्यो। ४÷५ वटा होमस्टेमा हामी बाँडिएर बस्ने भयौँ। राति खाना खाएकै ठाउँमा चिया खाने कार्यक्रम तय गरिएकाले भोलिपल्ट ८ बजेतिर सुरेन्द्र र म त्यतातिर लाग्यौँ।

एकाएक साथीहरु सबै जाने तरखरमा थिए। स्कर्टिङ गरेर हामीलाई लिबाङ पुर्याउने कार्यक्रम तय भएछ। अगाडि जनपथ र पछाडि सशस्त्र प्रहरीका गाडी राखेर हामी लिबाङतर्फ लाग्यौँ।

‘विप्लवका कार्यकर्ता पक्राउ गर्न जानुपर्ने भयो’ भन्दै बीच बाटोमै जनपथ र सशस्त्रले स्कर्टिङ छाडे। उनीहरुले आधा घण्टा पर्खनुहोस् भने पनि हामी राङ्सी हुँदै हिँड्यौँ।

‘उ यो माडीचौर’ भन्दै स्थानीयले देखाएको ठाउँ रमाइलो लाग्यो। गाडी रोकाएर हेर्यौँ। वरपर डाँडाले घेरिएको, समथर गाउँ, बीचमा कलकल गर्दै सफा पानी बगेको खोला। ‘हाम्रो पाल्पाको माडीभन्दा अलि सानो रैछ’ पाल्पाकै मित्र शिक्षासँग भनेँ। ‘अँ सानो भए पनि उस्तै उस्तै रैछ’ उनले भने।

लिबाङमा सुरुको दिन बसेकै होटलमा आइ झोला राख्यौँ। ‘एउटा ग्रुप भर्खर हिँडेकाले यहाँ आउँदा राति ११ जति बज्छ होला, त्यो ग्रुप आए लगत्तै हामी हिँड्छौँ’ भ्रमण टोलीको नेतृत्व गरेका डिपी ढकालले सूचना दिए।

तीन दिनपछि इन्टरनेटको पहुँचमा भएकाले होला धेरै साथी मोबाइलमा व्यस्त रहन थाले। साढे ८ बजेतिर ग्रुपमा भएकाहरुले खाना खाएर तयार भयौँ। युवराज घर्ती र म झोला राखेकै कोठामा गई बस्यौँ।

‘ओ साथी हो, जाने होइन, सुतिराछन् त’ शव्दसँगै म ब्युँझिएँ। सबैभन्दा पछाडिको ग्रुपबाट आएको भरतले १२ बजेतिर उठाएका थिए। ढोका खुलै रैछ।

अर्को बेडमा युवराज पनि निदाएछ। उसलाई उठाएर हामी तीनै जना बस रोकिएतिर लाग्यौँ। सबै जना बसमा अगाडिका सिट रोजेर सुतिरहेका रैछन्। हामी पुगेपछि लिबाङबाट बस छुट्यो। ‘यो सिट अलि अगाडि तान्नुस् न, अप्ठेरो भयो’ अगाडि सिटमा बसेकालाई पछाडिकाले यस्तै यस्तै भनेको सुनिन्थ्यो।

थप तस्बिरहरू

सबै तस्बिरहरूः सुरेन्द्र राना

श्रोतः सेतोपाटी 

279 पटक पढिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *