डाक्टरसा’बहरूसँग खप्तड यात्रा

डाक्टरसा’बहरूसँग खप्तड यात्रा

कुनै समयका कवि, अमृत भादगाउँले पछिल्लो दशक पर्यटन साहित्य तथा पत्रकारिता क्षेत्रमा एक अब्बल पत्रकारको रूपमा लोकप्रिय छन्।

मृदुलताका कुवेर प्रियमित्र अमृतजीले मलाई आफूसँगै पर्यटन प्रवर्द्धनको उद्देश्यले टिम तथा कार्यक्रम मिलाएर कहिले रारा ताल, कहिले तनहुँ त कहिले लमजुङतिरको यात्रामा लानुभएको क्षण मेरो जीवनका नबिर्सिने सुखद् पल हुन्। पछिल्लो पटक खप्तड यात्राको मौका मिलाउनुभयो।

यस यात्राबारे पूर्वजानकारी गराउन तथा सरसल्लाह गर्न डोटेली प्रिय कवि हेमन्त विवशसहित २०७४ साल फागुन २ गते सुन्धारामा एक भेटको समय मिलाउनुभयो।

यस वर्ष खप्तड महोत्सव पनि हुने भएकोले गंगा दशहरा मेलाको अवसर पारेर ‘खप्तड काव्य यात्रा’ गर्ने कुरा गर्नुभयो। यी दुवैजना शालीन र वचनका पक्का मित्रहरू मलाई माया र विश्वास गरेर यात्राको खाका कोर्न मसँग सल्लाह गर्दै हुनुहुन्थ्यो, म खुशी नहुने कुरै भएन।

त्यो यात्राको लागि म पक्का भएँ। गज्जबका मित्रहरूको टिम बनाउने र यात्रा व्यवस्थापनको चाँजोपाँचो मिलाउने जिम्मा लिएर करिब १ घण्टाको चिया–भेटघाटपछि मलाई बिदा दिनुभयो।

मेरो जिम्मा भने जान आउनलाई राम्ररी ‘हिँड्नसक्नुपर्ने’ मात्र थियो। खप्तड पुग्न पाँच घण्टा जति एउटा उकाली बाटो हिँड्नुपर्ने पूर्वजानकारी उतिखेरै गराउनु भयो, जसको तयारीको लागि म फागुन–चैत महिनाको घाममा पनि नक्खुखोला–भैँसेपाटी एरियामा समय मिलेसम्म दिउँसै कुद्न थालेँ। ताकि गोसाइकुण्ड जाँदा हिँड्न नसकेर परेको सकस खप्तड जाँदा नपरोस्।

यसबाहेक गर्धनको हड्डी खिएर नसा च्याप्न खोजेकोले लामो बस यात्रा गर्न नहुने अल्का हस्पिटलका डा. शिव अमात्यले दिनुभएको सल्लाहले भने काठमाडौं–धनगढी बसयात्रा कसरी पार गर्ने होला भन्ने चिन्ता पनि लाग्यो। तर, यसबीचमा यात्राको कुराकानी सेलाएजस्तो भयो। कुद्नु–सुद्नु छोडेँ।

वैशाखको दोस्रो सातातिर, ‘दाइ, जेठ ६ गते काठमाडौंबाट धनगढी प्रस्थान गर्ने भयौं, यात्रा करिब ८/९ दिनको हुन्छ, यसमा १/२ दिन अघि–पछि पर्नसक्छ, तयार रहनुहोस्। कार्यक्रमको सेडुअल केही दिनभित्रै इमेल गरिदिन्छु’ अमृतजीले मोबाइल गरेर भन्नुभयो । मैले भनें,‘हैन अमृत सर, मेला त अब जेठमा पो हो ? म त वैशाखमै होला भनेर तयारी गर्दागर्दै थाकिसकेँ।’

काव्य यात्राको मिति निश्चित भयो। मुख्य अर्गनाइजर ‘कन्सेप्ट नेपाल’ रहेछ। यस काव्य यात्राको टिममा धनगढी र दिपायलबाट अनुकूलता अनुरूप अरू केही साथीहरू पनि थपिने रहेछन्।

तयारी लिष्टमा कवि एवं पत्रकारहरू अभय श्रेष्ठ, अमृत भादगाउँले, अमृत सुबेदी, अरुण बम, आरके अदिप्त गिरि, उदय अधिकारी, गणेश पौडेल, घनश्याम खड्का, चन्द्र काफ्ले, टोपेन्द्र शाह, तारानाथ पहारी, दिपेन्द्रसिंह थापा, निमेष निखिल, भूपिन, व्याकुल माइला, सागर उदास, सुरेन्द्र राना (गुरिल्ला), हेमन यात्री, हेमन्त विवश, होमनाथ भण्डारीका अतिरिक्त साइकल–यात्रीहरू गोपाल श्रेष्ठ, सुदीप पौडेल, देवेन्द्र बस्नेत र रञ्जन राजभण्डारी गरी २५ जनाभन्दा बढीको टिम हुने रहेछौं।

सबैजना ठीक ३ बजे कलंकीमा भेट हुने कुरा थियो। म पहिला एक पटक बन्दीपुरको यस्तै काव्यिक यात्रामा जाने क्रममा निर्धारित समयभन्दा १ घण्टा ढिलो कलंकी पुग्दा खगेन्द्र लुइँटेल प्रा.डा.साबले ‘एक–एक घण्टा नै ढिलो गर्दिने?’ भनेर डाइलग मार्नु भएपछि यात्राभरि हाम्रो सम्बन्ध अमिलिएको घटनालाई सम्झेर यस पटक म निर्धारित समयभन्दा पनि १५ मिनेट अगाडि नै कलंकी पुगेँ।

साथीहरू कोही पनि आइपुग्नु भएको रहेनछ । समय काट्न चिया पसलतिर पसेँ। गाडी रिजर्ब थियो। अमृतजीले फोन गर्नुभयो र त्यहाँ आइपुग्नु भएका साथीहरू अभय श्रेष्ठ, अदीप्त गिरीजीहरूका नम्बर टिपाउनु भयो।

लगत्तै फोन आयो, कवि–लेखक अभय श्रेष्ठको रहेछ। भेट भयौँ। सिल्पिङ व्याग कसिएको रुकस्याक भिरेका झट्ट हेर्दै अनुभवी पदयात्री जस्ता देखिने हँसिला युवाहरू। चिनजान भयो– अदीप्त गिरी, दीपेन्द्रसिंह थापा…। यो हाम्रो पहिलो भेट भएकोले नालीबेली थाहा थिएन।

अभयजीले दीपेन्द्रजीलाई बोलाउनु हुँदा घरिघरि ‘डाक्टर साब’ भन्नु हुन्थ्यो। यो मान्छेचाहिँ डाक्टर रहेछन् भन्ने अनुमान गरें। जेहोस् हाम्रो टिममा कवि मात्र होइन डाक्टर पनि रहेछौं, बाटोमा बिरामी परिहालियो भने उपचार पाइने रहेछ भन्ने ठानेँ। पहिला रारा जाँदा पनि मुगु जिल्ला अस्पतालका प्रमुख बद्री डाक्टरसाब साथमा हुनुहुन्थ्यो।

आउँदा–आउँदै बाटोमा हाम्रो ‘खप्तड काव्य यात्रा’ को व्यानर बनाइवरी अमृतिजीहरू गाडीमा कलंकी आइपुग्नु भयो। त्योबेला भर्खर पाँच बज्दै थियो। हामी चढेपछि बस हुइँकियो। थानकोट कट्यो। यो बाटो नहिँडेको पनि धेरै भएछ। निकै नौलो लाग्यो। निद्राले छोप्न थाल्यो। नागबेली कुइनेटाहरू, नदी/खोला किनारको भीरको बाटो… निद्रा लाग्दैमा निदाइहाल्न सकिने अवस्था पनि होइन।

यस्तै यस्तैमा मुग्लिन पुगिएछ। आफूलाई निदाउन पाए हुन्थ्यो भन्ने लागेको। पोखरा र दमौलीबाट आएका साथीहरू भने अत्यन्त रसिक मुडमा रहेछन्। अघिसम्म बसभित्र निस्तब्धता थियो, उहाँहरू पसेपछि माहोल जोशपूर्ण बन्यो।

विशेषगरी दमौलीका कवि सागर उदासको दिलदार व्यवहारले। सागर उदास, गणेश पौडेल, अमृत सुवेदी र तारानाथ पहारी हामीलाई पर्खेर बसिरहनु भएको रहेछ। सागर सरले रेडियो–सेटबाट विनाकुनै पूर्वउद्घोष राष्ट्रियगान बजाउन थाल्नुभयो। सबै जना उठ्यौं ।

सागर उदास लगातार तीन दिन तीन रातसम्म पनि सालैजो गाउन सक्ने मान्छे हुन्। उहाँको अगाडि ‘सन्नाटा’ टिक्न सक्नै कुरै भएन। बस रोदीघर बन्यो– दोहोरी चल्न थाल्यो।

कोही गाउँदै, कोही सुन्दै, कोही हाँस्दै, कोही ताली बजाउँदै गुडिरहेका थियौं। नारायणघाट पुगिएछ। त्यहाँ इटहरीबाट आउनु भएका कवि हेमन यात्री, हेटौंडाका कवि भूपिन, निमेष निखिल, उदय अधिकारी लगायतका साथीहरू हुनुहुँदोरहेछ। त्यही खाना खायौं।

कुराकानीको क्रममा अभयजीले भूपिनजीलाई पनि ‘डाक्टरसाब’ भन्नु भयो। ‘के विषयमा पिएचडी गर्नुभयो भूपिन सर?’ सोधें । ‘होइन, डाक्टरसाब हाम्रो थेगो हो’ भन्नु भयो। यो थेगोपछि बाटोभरि सबैले प्रयोग गर्‍यौं। होटलका केही भाइहरूले चिनेछन्, सेल्फी लिन थाले। मध्यरात कटिसकेको थियो। अब बाटो सोझिएकोले निदाउनपट्टि लागियो।

जेठ ७ गते सोमबार बिहान ७ बजेतिर चियापान गर्न अत्तरिया पुगियो। धनगढी पुग्दा दिउँसोको १ बज्यो क्यार। हाम्रो खानाको व्यवस्था धनगढीको दिनेश होटलमा रहेछ। होटलका मालिक सफल व्यवसायी गोपाल हमाल दाइ र उहाँका स्टाफहरूले हाम्रो स्वागत् सत्कार गर्नुभयो। एभिएशन म्युजियमका संस्थापक क्या. वेद उप्रेती पनि सँगै हुनुहुन्थ्यो।

चिनजान गरियो । हाम्रो टिमलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभयो । दिनेश एफएममा छोटो अन्तर्वार्ता पनि दिइयो। त्यसपछि धनगढीस्थित ‘एभिएशन म्यूजियम’ अवलोकन गर्‍यौँ। एयर होस्टेजहरूबाट आकाशमा उडिरहेझैंको आभाष हुनेगरी राम्रो सत्कार पायौं।

हवाइजहाजसम्बन्धी उपयोगी केही ज्ञान र जानकारी बटुल्यौं। संस्थापक क्या. वेद उप्रेती स्वयम् यसबारे हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। अपरान्ह ४ बजेतिर अत्तरिया हुँदै सुदूरपश्चिमको पहाडतर्फ लाग्यौं।

धनगढीबाट कवि टोपेन्द्र शाह र गोपी दाइकी छोरी आरजु थपिनु भएको थियो। राति १ बजेतिर दिपायल बास बस्न पुगियो। त्यहाँबाट जेठ ८ गते बिहान ९ बजेतिर डोटीको सदरमुकाम सिलगढीतर्फ प्रस्थान गरियो। त्यहाँबाट पनि पत्रकारद्वय अरुण बम, प्रकाश बम सहित अन्य केही मित्रहरू थपिनुभयो।

‘कन्सेप्ट नेपाल’ को तर्फबाट लोकसंस्कृतिकर्मीहरूलाई सम्मान कार्यक्रम थियो । डोटीको सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको प्रांगणमा यो कार्यक्रम गर्ने निधो भएछ। यसै कार्यक्रमको प्रमुख अतिथि हुन म यस काव्य–यात्रामा सहभागी बनाइएको थियो। त्यसैले मलाई लाग्छ मेरो खप्तडयात्रा शैलेश्वरी माताको कृपाले भएको हो।

यहाँ मस्टो देवताको मन्दिर पनि सँगै रहेछ। यो देवतालाई क्षेत्री जातिको मुख्य इष्ट देवता मानिन्छ। यस कार्यक्रममा सम्मानित हुनुहुने व्यक्तिहरू हुड्केउली नृत्यकार पदमसिंह नेपाली, डेउडा गायक गोपाल पार्की र अग्रज पत्रकार धनबहादुर मल्ल हुनुहुन्छ। जनही १०/१० हजार नगद राशी र सम्मान–पत्रसहित सम्मान गरियो।

सानै भए पनि यो अत्यन्त उदाहरणीय कार्यक्रम हो। ‘हुड्केउली बाजा’ बजाउँदै जब कलाकार पदमसिंह नेपाली हुड्केउली नाच्नु भयो, तब सुदूरपश्चिमसँग साक्षात्कार भएको आभाष भयो।

खाना खाएपछि पुनः यात्रा सुरू । झिग्रानासम्म जीपमा गयौं । त्यसपछि खप्तड राष्ट्रिय निकुञ्ज सुरू हुँदोरहेछ। अबको बाटो पुरै उकालो। बाक्लो जंगल। ढल्किँदो घाम। शीतल मौसम। त्यसमा पनि लेकको हावाले छुन थालेकोले उकालो रमाइलै किसिमले पार गर्दै गइयो।

सकस भने सँगैका साइकलयात्री मित्रहरूलाई भयो। खप्तड पुगेर साइकल कुदाउने गर्ने धोकोले उहाँहरूलाई अजस्र ऊर्जा मिलिरिहेको थियो। खप्तडमा पहिलो पटक साइकल चलाउने साहसी पर्यटकहरूको इतिहास अवश्य नै कुनै बेला लेखिएला। त्यो बेला आज यसरी साइकल बोकी–बोकी खप्तड पुर्‍याउने यी मनुवाहरूको नाम कदापि छुट्नु हुँदैन।

यत्रो उकाली प्रायः हाँसेरै पार गर्ने जाँगरिला मनुवा हुन्– कवि हेमन यात्री। उनको हातमा बेमौसम फुलेका गुराँसको फूल हुन्थ्यो। कसैले भने औषधि हुन्छ भनेर चपाउँदै हिँड्थ्यौं। बाटोमा कोही फर्किदै गरेका कोही जाँदै गरेकाहरू यात्रुहरू भेटिन्थे। माथिमाथि उक्लिँदै गएपछि पर–परसम्मका पहाडहरू देखिने थाल्यो।

वाह!, ती सब सुन्दर सुदूरपश्चिम हुन् ! ठाउँ–ठाउँमा पानीको मूल पनि भेटिने रहेछ। पिउनलाई केही न केहीको टुटीधारा बनाइएको रहेछ। हामीलाई पानीको समस्या थिएन। झिग्रानादेखि सबै जनाले बोतल–पानी साथमा बोकेकै थियौं। एक हुल स्थानीयहरूसँग पनि केहीबेरसम्म सँगै हिँडियो। उहाँहरूले डेउडा सुनाए। डोटीका रोटी ख्वाए । उहाँहरूको सङ्गतले ‘आया हुन्, गया हुन्’ भन्ने थेगो सिक्यौं।

विस्तारै ठण्डी सुरू हुन थाल्यो । निगालो घारी । मेरो भुक्क निस्केको पेट छाम्दै कवि हेमनजी सोध्नु भो,‘हन, दाजु कति महिनाको भयो हउ?’ हाम्रो अभय डाक्टर साबले जवाफ दिनुभयो, ‘११ महिना ।’ ‘यहाँ एक्लै छाडियो भने व्याकुलजीको भुँडी बँदेलले फुटाइदिन्छ’ कवि भूपिनले मेरो सुरक्षा चासो लिनुभयो।

यसरी साथीहरूले माया गरीगरी बाँकी उकाली पनि कटाइदिए। झमक्क साँझ पर्दा बिचपानी पुग्यौं। राष्ट्रिय निकुञ्जको गेष्टहाउस रहेछ। सामान्य खानेबस्ने सामान्य सुविधासहितको होटल। हाम्रो लागि उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले प्रबन्ध मिलाइदिनु भएको रहेछ।

सुत्नलाई सबैजना घरभित्र अट्न सम्भावना थिएन । टेन्ट टाँगेर केही साथीहरू बाहिरै सुत्नु भयो । केही साथीहरू भने जाडोको ओखतीपानी पिएर राति अबेरसम्म बस्नु भएछ । आफूचाहिँ निदाइहालिएछ । बिहान ७ बज्नलाग्दा पो उठियो ।

जेठ ९ गते बुधबार।

बिहानको चिया खाएर बाटो ततायौं। उकालो बाटो हिजै पार लाइसकेका थियौं। पूर्वतर्फ गइरहेको भए पनि मलाई भने पश्चिमतर्फ गएजस्तो लाग्थ्यो।

खप्तड महोत्सव उद्घाटन कार्यक्रममा पनि पुगिदिनुपर्ने भएकोले अलि सरासरी हिँड्नुपर्ने जनाउ अमृतजीले दिनुभयो। कार्यक्रमको प्रमुख अतिथि चाहिँ मुख्यमन्त्री त्रिलोचन भट्ट हुनुहुन्छ भन्ने सुनियो।

बढी तेर्सो अनि सानोतिनो उकाली–ओराली । कवि भूपिन, अभय, निखिल र म अघिअघि थियौं। हामी सँगसँगै घरबिदाबाट फर्किंएका एकजना सैनिक कर्मचारी आफ्नो गाउँले भाइसँग थिए।

एउटा सुन्दर पाटन आइपुग्यो। पहिलो पटक यस्तो पाटन देखियो। यो मैदान हेर्दै रमायौं। एउटा विश्रामगृह रहेछ। वीरगति पाएका कुनै सैनिकको नाममा बनाइएको पाटी । चमेना गृह । त्यहाँ बिसायौं । चिया खायौं । उताबाट दुईजना भाइहरूले घोडा ल्याउँदै थिए । हामीमध्येकै एकजना मित्रले सोध्नु भयो, ‘कहाँ लगेको हो भाइ घोडा?’

‘कलाकार लिन’

‘कुन कलाकार हो ?’

 ‘प्रदिप कुमार राई ?’

 ‘कल्ले पठाएको ?’

 ‘व्यारेकले’ ।

उनीहरूले कागजको चिर्कटो देखाए– प्रदिप कुमार राई (व्याकुल माइला) । कवि भूपिनले चिनाइदिनु भयो, ‘तिमीहरूले लिन आएको सर उहाँ नै हो।’

मलाई फसाद पर्‍यो। साथीहरूलाई छाडेर आफू घोडा चढेर जान असजिलो लाग्यो। कवि भूपिन मभन्दा बढी थकित हुनुहुन्थ्यो। पहिला कहिल्यै घोडा नचढेको। त्यसमा पनि सानो घोडा, अप्ठ्यारो बाटो। घोडा चढ्नुभन्दा हिँड्नु नै सुरक्षित सम्झें।

कवि भूपिनलाई, ‘कविजी, तपाईं चढ्नुस्’ अनुरोध गरेँ । यी विवेकी कविले के मान्थे। ‘कहाँ त्यस्तो हुन्छ, कार्यक्रम सञ्चालन हुन ढिलो भयो होला, आयोजकले छिटोको लागि तपाईंलाई घोडा पठाइदिएका हुन्। तपाईं अगाडि बढ्नुस्’ भन्नुभयो। अब घोडा नचढी धर पाइएन।

खुब डराउँदै घोडामाथि चढें। अपरिचित आर्मी मित्र पनि साथ लाग्यो। मलाई चिनेपछि असाध्यै मेरो ख्याल राख्न थाल्यो। मसँग एक स्न्याप फोटो खिच्ने उनको चाहना थियो। खप्तडमा भेट भइन्छ, त्यही खिचौं भनें। डरले सिरिङसिरिङ हुँदाहुँदै बाटो काटिएछ। आधी घण्टामा पहिलो पाटन पुगियो।

भलिबल प्रतियोगिता भइरहेको रहेछ। आयोजकहरू स्वागत सत्कार गर्न आउनुभयो। खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (मुख्य वार्डेन) चन्द्रबहादुर चन्द, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सवका संयोजक रामप्रसाद उपाध्याय लगायत अन्य महानुभावहरू। ‘तपाईको पनि भाग्य, हाम्रो पनि भाग्य, हाम्रो कार्यक्रमको प्रमुख–अतिथि तपाईलाई नै बनाएका छौं, त्यसैले घोडा पठाएर हतार–हतार ल्यायौं हजुर’ अध्यक्षज्यूले भन्नु भयो।

‘ठीक छ, धन्यवाद छ हजुर’ भन्दै खुशी व्यक्त गरें। एक्कासी मुख्यमन्त्री आउन नसक्ने हुनुभएछ । मेरो साथमा लुगा भने प्रमुख अतिथि हुँदा लाउने खालको थिएन। सजिलो खाले लुगा मात्र बोकेको थिएँ। मनमनै सोचेँ चिटिक्क पर्न पाको भए!

भलिबल प्रतियोगिता सनसनीपूर्ण थियो । अछाम, बझाङ, बाजुरा र डोटीका विभिन्न टिमहरूका बीच भीडन्त । खेलाडीहरूभन्दा दर्शक जोशिएका थिए। भलिबल नेपालको राष्ट्रिय खेल हो। समुद्री सतहदेखि ३००० फिटको हाइअल्टिच्युडमा भइरहेको खेल। राष्ट्रिय टिमहरूलाई पनि यसरी नै वर्षको केही महिना हाइअल्टिच्युड भएको हिमाली भेगमा, केही महिना मधेशको गर्मीमा र केही महिना मध्यपहाडी क्षेत्रमा अभ्यास गराउन पाए कति राम्रो हुने थियो।

तब बल्ल फुटबल, भलिबल, क्रिकेट जस्ता खेलमा नेपाल च्याम्पियन हुने थियो । यता खेलमैदान बनाउन मिल्ने ठाउँहरू प्रशस्तै हुन्छन् । खप्तडमा क्षेत्रमा मात्रै पनि करिब २०/२५ वटा फुटबल स्टेडियम बनाउन सकिने फाँट रहेछ। यस्ता खाली ठाउँहरू अहिलेसम्म हाम्रो देशमा अरू पनि धेरै छन्। जित्नेगरी खेल्न सक्ने तगडा खेलाडीहरू सहरमा होइन गाउँमा हुन्छन्।

गाउँबाटै खेलाडीहरू जन्माउनुपर्छ। राजनीति र राजधानीको हालिमुहाली चलेसम्म हाम्रो खेलकुदको विकास संभव छैन। यस भलिबल प्रतियोगिताका संयोजक रमेश खड्का कुनै खेलकुद निकायका पदाधिकारी होइनन् रहेछ, उनी त गाउँका एक धामी–गुरु पो रहेछन्।

केही बेर खेल हेरेपछि खानाको व्यवस्था भयो। खानापछि रिफ्रेस हुनलाई एक जना भाइका साथ मलाई खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय अर्थात् क्वाटरमा पठाइयो। अब म आयोजकका सेडुअलमा बाँधिएँ । क्वाटर पुग्न १ घण्टा जति समय लाग्यो। गार्डलाई चाँबी खोल्न लाएर भिआइपी कक्षमा राख्नु भनेर पठाएका थिए विचरा भाइले कुरा नबुझेर होला कर्मचारीका कोठामा राखे। त्यही आराम गरेँ। अलि बेर निदाएछु। यो क्वाटर अलि हाइटमा छ। आराम पुगेपछि उठेर बाहिर रमित हेर्न निस्किएँ।

काग..काग..काग…!! बाँ .. बाँ… !! पशुपंक्षी कराएका आवाज। सिरिरि..हावा चलिरहेछ। मानौं तिहार आयो। यस्तै हावापानी हुन्छ तिहार ताका हाम्रोतिर।

जंगल र पहाडहरूले घेरिएका पाटनहरू। फाँटैभरि फुलेका मसिना–मसिना रङ्गी–विरङ्गी चेरी र ल्वाङ फूलहरूले सुनौलो देखिन्छ फाँट। लहरलहर चल्ने हावाका झोक्काले कम्मर मर्काएर डेउडा नाचेझैँ देखिन्छन्– पहेँलपुर झारफूलहरू । चरिरहेका गाईवस्तु र कुदाइएका घोडाका घाँटीमा बजिरहेछ घण्टीहरू– टङलङ टिङलङ.. टिङलङ टङलङ…टङलङ..टिङलङ..! चरिचरन गर्ने ठाउँ रहेछ यो।

एक किंवदन्ती अनुसार उहिले महादेव र पार्वती पनि यहाँ आएर यसरी नै चौपाया बनेर चर्दै क्रीडा गरेका थिए रे। चौरास्तबाट लस्करका लस्कर तीर्थालुहरू ओइरिरहेछन्। रातो–राम्रो लुगा लगाएका तीर्थालुहरूको बाहुल्यताले रातै छ पाटन। मान्छेका कल्याङ–मल्याङ कल्याङ–मल्याङ आवाजहरू ध्वनित–प्रतिध्वनित भएर हावामा तरङ्गित हुँदै गुञ्जिरहन्छ। यो एक बेग्लै संसार।

मानौं एलियनहरूको दुनियाँमा। भाषा फरक । स्वभाव फरक । संस्कृति फरक । हरेक वर्ष जेष्ठ शुक्लदशमीका तिथिमा यहाँ गंगादशहरा मेला लाग्छ । यो तिथिमा यस त्रिवेणी धाममा स्नान गर्दा चारधाम (काशी, गया, बद्री र केदार) मा नुहाए जत्तिकै पुन्य मिल्छ । पितृ खुशी हुन्छन् । त्यसैले तीर्थालुहरू यसरी आइरिएका हुन् । तर, अरू समय भने यो ठाउँ सुनसान ।               

अपरान्ह ३ :३० भयो।

दाउन्नेमा घोडादौड प्रतियोगिता भइरहेछ । हेर्न मन लागेको हो तर प्रमुख अतिथि भएकोले त्यसै हिँडिहाल्न मिलेन। मेरो खोजी भएछ। मलाई लिन एकजना कर्मचारी आइपुगे।

महोत्सवका संयोजक रामप्रसाद उपाध्याय गुरु र निकुञ्जका मुख्य वार्डेन चन्द्रबहादुर चन्द सर क्वाटर आइपुग्नु भएछ। भलिबल र घोडादौड प्रतियोगिता सकिएछ। अब महोत्सवको उद्घाटन कार्यक्रमको पालो आएछ। कार्यक्रमस्थल यहाँदेखि अलि तलै छ– त्रिवेणी मेला लाग्ने ठाउँमा । चिया पिउँदै झोलाका लुगा निकालेर लाएँ र ओर्लियौँ ।

धुपी, सल्ला, गुराँस, बाँस, धुपी, खर्सु आदि किसिमकिसमका ढकमक्क झुल्ने रुख–विरुवा, वनफूल, पाँचऔंले, नीरमसी, कालकुट आदि ५ सय थरी जडीबुटीहरू र विविध वनस्पतिहरूको बाक्लो सिरक ओढेर करिब ३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमको डोटी, अछाम, बझाङ र बाजुराको सङ्गमस्थल हो।

समुद्र सतहदेखि २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा रहेको यस क्षेत्र जैविक विविधताको राजधानी हो। हरियो छेपारो, खस्रेभ्यागुता, बझाङेपाहा आदि दुर्लभ जीवदेखि विभिन्न २ सय ६० प्रजातिका चराहरू, भालु, बँदेल, कस्तुरी, चितुवा आदि २३ किसिमका वन्यजन्तुहरू र रङ्गीचङ्गी थरीथरीका फूलहरू पाइन्छन्।

वि.सं. २०४१ सालदेखि यसलाई राष्ट्रिय निकुञ्जमा बनाइएको हो । हिउँद यामको ३ महिना भने हिउँले ढाकिन्छ । खप्तड वास्तवमा सिमसार क्षेत्र हो। यहाँ ५२ वटा पाटन,  ५३ वटा थुम्का र २२ वटा दहहरू छन् ।

पौराणिक कालदेखिकै देवभूमि मानिएको यस क्षेत्रलाई यति धेरै प्रख्यात बनाउनमा भने खप्तडबाबाको ठूलो देन छ। उहाँ भारतको कश्मीरमा नेहरू परिवारमा जन्मनु भएको हो। पेशाले डाक्टर हुनु हुनुहन्थ्यो। वि.सं. १९८६ मा नेपाल आउनुभयो। यही क्षेत्रमा कुटी बनाई करिब ५० वर्ष जति तपस्या गर्नुभयो र तत्वज्ञान पनि प्राप्त गर्नुभयो।

त्यसपछि श्री १००८ खप्तडस्वामी श्री सच्चिनानन्द सरस्वतीको रूपमा पनि विभूषित हुनुभयो । वि.सं. २०५३ जेष्ठ कृष्ण जन्मसप्तमीको तिथिमा ब्रम्हलीन हुनुभयो। त्यसैगरी यो भूमि सुदूरपश्चिमेली विभिन्न भाषाहरू र गौरा, चाँचरी, हुड्केउली, डेउडा लगायतका लोकभाका, लोकनाच एवं लोकसंस्कृतिहरूको उद्गम थलो पनि हो।

यी विविध कारणले खप्तडलेकलाई भूस्वर्ग मानिएको हो । बेलायतको स्कटल्याण्डमा पनि यस्तै अति मनोरम खर्कहरू देखेको थिएँ तर यहाँजस्तो सबैथोक जुरेको, मिलेको भूमि त संसारमा शायदै भेटिएलान् ।

बाटोभरि तीर्थालुहरूको लस्कर। अल्पभाषी सुदूरपश्चिमेलीहरू। जम्काभेट हुँदा कि बाटो छोडिदिने कि छोडिदिनुपर्ने मात्रै हो। सबै आफ्नै सुरमा।

एक हुल किशोर–किशोरीहरूलाई भने वार्डेन सरले सोध्नु भयो, ‘तिमीहरूले प्रदिपकुमार राई व्याकुल माइला चिनेका छौ ?’

 ‘छ, राष्ट्रिय रचनाकार ।’

 ‘ल, उहाँसँग फोटो खिच्ने’ फोटो सेसन भयो।

मेरो गाउँका नयाँपुस्ताले समेत मलाई व्याकुल माइला भनेर मात्र चिन्छन्। प्रदिप कुमार राई भन्दा चिन्न मुश्किल पर्छ। तर यता भाइबहिनीहरू भने प्रदिपकुमार राई भन्दा पनि सजिलै चिन्दारहेछन्, जसले गर्दा सुदूरपश्चिम प्रति मेरो असीम आत्मीयता बढ्यो। कार्यक्रमस्थलमा मान्छेहरूको जमघट ठूलै देखियो । आज खप्तड क्षेत्रमा जताततै मान्छे । बजार लाग्ने मुख्य ठाउँ यही रहेछ । 

आसन ग्रहणपछि सभापतिले भन्नुभयो, ‘तपाईं भनेको त हाम्रो विभूति हो !’

‘हजुरहरू जे भन्नु हुन्छ त्यही हो। भूइँको धूलो भन्नु भयो भने पनि, म त्यही हो !’ यो मायाले म भावविभोर बनेँ।

खासमा भन्ने हो भने मुख्यमन्त्री नआउनु भएको प्रति गुनासोभन्दा पनि एक इतिहास पुरुषलाई कार्यक्रमको उद्घाटन गराउन पाइयो भन्ने अनुभूतिले उहाँहरू गौरवान्वित हुनुहुन्थ्यो।

मैले अहिले बल्ल बुझ्दै थिएँ– मान्छे नपाएर होइन, उहाँहरूको मुटुमा भरिएको राष्ट्रप्रेमको भावनाका कारण मलाई यो मौका दिनुभएको रहेछ। कुनै पनि स्थायी संरचना बनाउन नमिल्ने ठाउँ रहेछ यो। त्यसैले त्रिपालको साना मञ्च बनाइएको रहेछ। यस्तो ठाउँमा यति बनाउनु पनि सजिलो काम होइन । दर्शकहरू मञ्चको नजिक-नजिक झुम्मिए।

भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीहरू अलि खरो उत्रिनु पर्‍यो। बिरुवामा पानी हालेर ‘प्रथम खप्तड महोत्सव, २०७५’ समुद्घाटन गरियो। चारवटा जिल्लासँग सरोकार राख्ने महोत्सव भएकोले आउनु भएजति स्थानीय जनप्रतिनिधिज्यूहरूलाई मन्तव्यको पालो दिइयो।

कलाकारहरूले डेउडा गीत मीठो किसिमले प्रस्तुत गरे । हाम्रो गाउँमा पनि गत साल ‘बृहत् लोकसांस्कृतिक नाच कार्यक्रम, २०७४’ मा डेउडा गायक नन्दकृष्ण जोशी दाइले ‘झ्याम्म..झ्याम्म…’ भन्दै डेउडा गाउनुभएको थियो। हामी खुब रमायौं। सबै दर्शकहरू नाचे। म आज ठीक त्यही जमिनमा छु, जहाँ देउडाको उद्गम विन्दु रहेछ।

एक किसिमले अत्यन्तै तृप्त भएको महशुस गरिरहेछु। आफूलाई धन्य सम्झिरहेछु । यहाँ यही तिथिमा अर्थात् यही रात सुदुरपश्चिमवासीहरू रातभरि देउडा गाउँदै, नाच्दै गर्दा रहेछन् । हिउँदभरि हिउँ जमेर थलथल बनेको जमिनमाथि आधिउधीले हातेसाङ्लो बनाएर डेउडा नाच्ने र आधिउधी बीचमा बसेर सुन्ने, तालि पिट्ने, गाउन सघाउने गर्दा रहेछन्। यसो गर्दैजाँदा विस्तारै जमिनमा कम्पन आउने रहेछ । त्यो कम्पन देउडाको शक्तिले आएको हो भन्ने विश्वास रहेछ, जुन कम्पन डडेलधुरासम्म पुग्छ भन्ने मान्यता रहेछ।

केहीले गुनासो गर्दै थिए, डेउडा प्रतियोगिताचाहिँ किन नगरेको ? एफएमहरूबाट सूचना प्रसारण गर्दागर्दै पनि सहभागीताको लागि कुनै समूहले पनि नाम नटिपाएपछि रद्द गरिएको रहेछ । राति ९ बजेतिर मेरो बोल्ने पालो आयो । मेरो कुरा पनि त्यही हो, खप्तडको पर्यटन प्रवर्द्धनले नै सुदूरपश्चिम समृद्धि बन्छ ।

औपचारिक कार्यक्रम सकिएपछि हामी क्वाटर फर्कियौं। पानी पर्ला जस्तो भयो। खाना खाएर नसुत्दै पानी दर्कियो। दुनियाँको आज विजोग भयो भन्ने लाग्यो। त्यसमा पनि साथीहरूको चिन्ता लाग्यो। बिहान बिदै नभइ छुटेका हामी यो कार्यक्रममा समेत नजिक हुन पाइएन। ‘ठूलो मान्छे भयो’ भनेर रिसाए कि भन्ने पिरलो पनि लाग्यो। अर्को मनले सोचें– होइन आफ्नी सानी छोरी र श्रीमतीको समेत त वास्ता नगरी यस्ता कार्यक्रमहरूमा दगुरिहिँडेको १० वर्ष भयो।

आमाछोरी गुनासो गर्दा भन्दिन्छु, ‘म तिमीहरूको मात्र होइन, म सबैको हुँ !’ त्यसैले सार्वजनिक कार्यक्रमको लागि मेरो जीवन फुक्कामफाल छ। यी साथीहरू त आआफ्नो क्षेत्रका होनाहार हस्ती हुन् । आयोजकले राम्रो क्याम्प पनि बनाइदिएकै छ। अघि हाम्रो त्यो क्याम्पमा राष्ट्रिय झण्डा फर्फराइरहेको देखेको थिएँ । यसै बखत अमृत सरको फोन आयो, ‘दाइ, पानी परेर हामी विजोग भयौ’, त्यहाँ आर्मी क्याम्पमा भनिदिनु पर्‍यो। साथीहरू आउँदै हुनुहुन्छ।’ ‘हस, कुरा गर्छु’ फोन पनि कटिगयो।

त्यसपछि फोन लाग्न छाड्यो। घाम लागेर सोलार चार्ज हुँदा टावरले काम गर्ने रहेछ। अरू बेला बन्द। रातको ११ बजेको थियो । बाहिर पानी दर्किरहेछ। अध्यक्षज्यूलाई यो कुरा राखेँ। तल आर्मी क्याम्प जान मुस्किल थियो । ‘आर्मीले पाहुनाहरूका लागि १९/२० वटा टेन्ट टाँगेका छन् । उहाँहरू आउनु भयो भने दिइहाल्छन्’ भन्नु भयो । त्यसो भए चिन्ताको विषय होइन रहेछ भन्ने लाग्यो। सुर्ताउँदै पनि जसोतसो निदाइगएछु ।

जेठ १० गते बिहिबार।

बिहान चिया खाइवरी तल झर्दा साथीहरू हिँडिसक्नु भएछ। फोन लाग्दैन। लेकमा अलिअलि कुदयो स्वाँ स्वाँ भइहाल्ने । दुर्गम क्षेत्र भनेको यही रहेछ भन्ने सम्झें। हाम्रो टिमको आज सहस्र लिङ्ग, खप्तड दह, बाबाको आश्राम लगायतका धामहरू घुम्ने सेडुअल थियो। तर, यता भलिबल र घोडादौड विजयीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम बाँकी नै छ। त्यसैको तयारी हुँदैछ।

हिजोको भलिबल मैदानतिर झर्‍यौँ । साथीहरू कतै पनि भेटिएनन् । गंगा दशहरा मेलाको दिन। हिजो रातिको वर्षातमा पनि रातभरि डेउडा नाचगान भएछ । यो बेलाको पानी पर्दा शुभ–मंगल मानिँदोरहेछ। अहिले मेलास्थल सुनसानै भइसकेछ। टाढाकाहरू बिहानै त्रिवेणीमा स्नान गरी बाटो तताउने रहेछन्।

अधिकांश तिर्थालुहरू भने आर्मीका हेलिकप्टर हेर्न हेलिप्याडतिर पाखैभरि कुदिरहेका थिए । जनसहभागिताविना कार्यक्रम गर्नलाई मज्जा आउँदैन। यस्तैमा खेलाडीहरू भेला भए। संक्षिप्त औपचारिक कार्यक्रम गरियो । पुरस्कार वितरण प्रदान गरियो। भलिबल च्याम्पियनसीपको ट्रफी अर्को आफूले सौजन्य प्रदान गर्ने वचन दिएँ।

यसरी हाइअल्टिच्युडमा आयोजित हुने भलिबल र जोखिमपूर्ण घोडादौड कार्यक्रमले विश्वकै ध्यान तान्न सक्ने सम्भावन हुन्छ। यसलाई व्यवस्थित र व्यापक बनाउनु आवश्यक छ। पुरस्कार वितरण हिजै गर्नपाएको भए लिनेलाई शान र दिनेलाई पनि आज फुर्सद हुने थियो। तर, यहाँ जेष्ठ ९ गते नै भने मानवसागर उर्लिने भएकोले त्यही दिन प्रतियोगिता आयोजना गर्न भ्याउनु परेको रहेछ। सबैथोक भ्याउन सकिएन छ।

विजयी खेलाडीमा नेपाली सेनाका टिम र जवानहरू पनि रहेछन्। त्यसैले खेलाडीहरूको बाक्लै उपस्थिति रह्यो । ११ बजेतिर औपचारिक कार्यक्रम सकियो । कार्यक्रमपछि पनि केहीबेर फोटो सेसन चल्यो। त्यसपछि बल्ल फुर्सद पाइयो।

विणा भएका कस्तुरीका बथानजस्ता लाग्ने मेरा साथीहरू हिजो रातिको वर्षातले चुटेपछि आयोजकसँग अलि भड्किएछन्। उहाँहरूको तुलनामा म आफूलाई बँदेल सम्झिन्छु। आयोजकका ओतमा घुसिएर ओभानो थिएँ । त्यो बथानमा कतिखेर मिसिने पाइने हो भन्ने छटपटी भयो।

फोन गरेँ, ‘अमृत सर, कता हो?’

 ‘दाइ, हामी त सहस्र लिङ्गमा छौं, के गर्नु तपाईं छुट्नु भयो । हामी यतैबाट खप्तड दह जान्छौं।’

‘म पनि आउने सक्दो कोशिस गर्छु’ भनें।

क्वाटर पुगेर खाना खायौं। आयोजकले घुम्नको लागि घोडाको व्यवस्था गरिदिनुभयो। पहिला कहाँ जाने भन्ने भयो। खप्तडबाबाको कुटी मेरो प्राथमिकतामा पर्‍यो। डोर्‍याइदिने एकजना कर्मचारीसहित घोडा चढेर कुटी गइयो। अवलोकन र दर्शनपछि आनन्दित हुँदै फर्कें।

अब सहस्रलिङ्ग जाने कि खप्तडदह जाने भन्ने भयो । सहस्र लिङ्ग घोडामा होइन पैदल जानुपर्ने रहेछ। सम्भव भएन । त्यही घोडामा खापर दहतर्फ लागियो। घोडा ज्ञानी र बलियो रहेछ। अब त म पनि डराउन छोडेँ। बाजुरातर्फ जाने बाटोमा खापरदह नजिक बाटो छेउ एक ठाउँ अलिलि खोस्रिएको रहेछ। मेरो सहयोगी निकुञ्जका हेरालु भाइले त्यसलाई राम्ररी नियालेर हेरे।

 के हो ? के भो ? सोधें।

‘मेलाबाट फर्केकाहरूले जडीबुटी उखेलेछन् सर।’

यसो गर्दा पनि निकुञ्जको नियम लाग्ने रहेछ। खप्तड यसरी हराभरा र सुन्दर रहनुको राज यी यस्ता कर्मठ हेरालु कर्मचारीहरूका रेखदेखको प्रतिफल रहेछ भन्ने बुझें।

खापरदह पुग्न लाग्दै थियौं, हस्याङफस्याङ गर्दै घोडाका मालिक खगेन्द्र कडायत आइपुग्नु भयो। र, भन्नु भयो, ‘सर, खापरदह नजिकचाहिँ घोडा चढ्नु हुँदैन, हजुरलाई थाहा हुन्न होला भनेर दगुरेर आएको, ठीक बेला आइपुगेछु।’ म ओर्लिए।

उहाँले कहिले घोडा पठाइदिएर त कहिले आफैं मेरो साथ लागेर हिजोदेखि नै उहाँले मलाई सहयोग गरिरहनुभएको छ । खापरदह अलिअलि देखियो। यो दह अत्यन्त पवित्र दह रहेछ। यस दहको पानी मान्छेले हत्तपत्ति नछुने पनि रहेछन्। उहिले यहाँ डुबेको एकजना बालकको लाश अछामको नदीमा फेला पर्‍यो रे। त्यसैले यस कनेक्सन अछामसम्म छ भन्ने जनधारणा रहेछ।

यस नजिकै बलि चढाइने देउताको थान रहेछ। यी देवस्थलको दर्शन गरेपछि हामी द्वयपाटन तर्फ रमिता हेर्नजाने भयौं। बाजुरा जिल्लामा पर्ने रहेछ यी विशाल पाटनहरू। अति सुन्दर । गाउँलेहरू कर तिरेर टाढ्टाढाबाट भेडा, च्याँग्रा, गाई, भैँसी आदि चौपायाहरू चराउन ल्याउने चरिचरन क्षेत्र अर्थात् खर्क।

याम अनुसार लेकबेँसी गर्दै गाईवस्तु डुलाउने यी फिरन्ते गोठालोहरू यही दूध, दही, मही, घ्यू पार्‍यो, खायो, बेच्यो। खसी, भेडा पाल्यो, बेच्यो,पैसा कमायो। एक सुरको जीन्दगी। घोडामाथि सयर हुँदै यी अनुपम सुन्दर पाटनहरू निर्निमेष हेर्दै अगाडि बढ्दै थियौं।

ती कस्तुरीका बथानहरू पर देखा परे। खुशीले चिच्यायौं। ‘श्री ३ व्याकुल माइला’ भन्दै किसिम किसिम पोजका फोटोहरू खिच्न थाल्नुभयो । यसै टिमका संयोजक तथा व्यवस्थापकद्वय अमृत र हेमन्त सरहरूले, ‘दाइ, आज हाम्रो अन्तिम खप्तड बसाइ हो, थाक्यौं पनि। त्यसैले तपाईं अगाडि पुग्नु हुन्छ, कति रुपैयाँ लाग्ने हो दाम हामी तिर्छौं, आर्मीलाई एउटा मज्जाको खसी काट्न लाउनुस्।’

मेरो बसाइ आर्मी क्याम्पमा नभएर निकुञ्जको क्वाटरमा भएको बताउँदै, खशी किन्ने, बनाउने, पकाउने सबै कामको जिम्मा यी कडायतजीलाई दिँदा राम्रो हुन्छ भनें। उहाँ अत्यन्त इमान्दार र रैथान मान्छे। यहाँ सबै कुरा मिलाउन सक्ने मान्छे। साथीहरू पनि सहमत हुनुभयो। हामी सबै र आयोजक समेतलाई खुवाउने गरी ९ हजार रुपैयाँ जतिको खसी किन्ने सल्लाह भएछ।

उक्त रकम लिएर कडायतजी खसी किन्न जानुभयो। भनेजस्तै खसी किनेर बाँकी पैसा फिर्ता गरी खसी लिएर अघिअघि जानुभयो। मासु पाक्दै गर्छ विस्तारै जाउँला भनेर रमिता हेर्दै, टहलिँदै हिँडियो। पुग्दा खसी पाकिसक्यो होला भनेको त कथाले अर्कै रूप लिएछ। हाम्रो लागि किनेर लगेको खसी होटलमा बिसाएर अर्को टोलीको लागि पनि कडायतजी खसी किन्न निस्किएछन्।

उनको पार्टनर जेठानले कुरै नबुझी हाम्रो त्यही खसीचाहिँ सोधभर्ना गर्ने गरी सोचले पछि खसी किन्न पठाउने नयाँ टिमलाई जिम्मा दिएछन्। तरकारी के कति पाक्यो भनेर हाम्रो टिम सोधखोज गर्न पुग्दा त जात्रा भएछ । हाम्रो टिमको फेरि पारो चढ्यो। हिजो रातिको तनाव भुल्न खोजेको त फेरि पो दोहोरियो ।

विचरा अपजसे आयोजकहरू। उनीहरूले पनि हाम्रो टिमलाई खुसी पार्न खसी काटेर खुवाउने योजना बनाएका रहेछन् तर हामी आफैंले खसी खोजेको थाहा पाएपछि क्यान्सिल गरेछन्। अन्तमा त्यही होटलको दालभात खाएर सुकला गरियो। आज भने हाम्रो टिमले पनि निकुञ्जको पक्की भवनमा वास पाएको अवस्था। हिजोको जस्तो पानी परेको भएचाहिँ यो गुँडको गुण महशुस हुने थियो। तर, मौसम सफा रह्यो।

ठूलो ग्रुप अनि परदेशको माम्लो । जो भयो सो भयो, यसमा कसैले गुनासो गर्नु भएन । तर, आफ्ना पाहुना साथीहरूले भोग्नु परेको यस किसिमका कष्ट प्रति डोटीवासीका नाताले कवि हेमन्त विवशले आयोजकसँग खरो असन्तुष्टि पोख्नुभयो। तथापि आयोजकहरूले पनि यस टिमलाई सत्कार गर्न खोज्दाखोज्दै परिस्थितिवश मिसअण्डरस्ट्याण्डिङ भएको थियो । त्यसको साक्षी म नै थिएँ ।

निकुञ्जको प्रशासन एकातिर, आर्मीको चेन अफ कमाण्ड अर्कोतिर। निकुञ्जका थोरै कर्मचारीहरू रहेछन्, जो ४–५ दिनदेखि खट्दाखट्दा थाकेर हाकिम साबका कुरा पनि नसुन्ने भइसकेका रहेछन्। यो ठाउँमा न भने जस्तो केही पाइन्छ। न फोन लाग्छ। न खुर्र दगुरेर भनेको ठाउँमा पुगिहाल्न सकिन्छ। यिनै परिस्थिति र परिवेशसँग सम्झौता गर्दै अध्यक्षज्यू र वार्डेनसाबले धन्न पो कार्यक्रमको संयोजन र व्यवस्थापन गर्नुभयो भन्ने लाग्छ । उहाँहरूलाई माइन्ड गर्दा अन्याय हुने देख्छु।

खप्तडमा घुम्नै पर्ने ठाउँ धेरै रहेछन्। भूस्वर्ग खप्तडको आनन्द लिन त वर्षभरि नै बस्नु पर्छ। नभए पनि एक साताको समय मिलाएर आउन सकियो भने केही कुरा बुझ्न पाइन्छ। सहस्रलिङ्ग, नागढुङ्गा, सीतापाइला, घोडादौड (दाउन्ने), भीमघट्ट, भीमलौरी आदि हर्नै पर्ने ठाउँहरू घुम्न भ्याइएन।

भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपि हिमाल, बझाङ सैपाल हिमाल र बाजुराको बडीमालिका लगायतका हिमालहरू देखिने डाँफेकोट भ्यू–टावर हतारोले चढ्न सकिएन। बल्लबल्ल आएर पनि पूरै घुम्न नपाएकोमा अलि अफसोच लागिरह्यो। फेरि आइला भन्ने आशाले मन थामियो। यहाँबाट भोलि बिहान सबेरै प्रस्थान गर्ने सरसल्लाह गर्दै शुभरात्री गर्‍यौं।

दुर्लभ जीवनजन्तु, वनस्पति एवं अनुपम प्राकृतिक छटा भएको यस खप्तड सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पनि अद्वितीय छ। नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एक ज्वलन्त उदाहरण हो। यसलाई राज्यले नै हरपल पहरा दिएर संरक्षण गरेको छ। त्यसैले यसलाई राज्यले देखेन भन्न मिल्दैन।

मात्र अब यसलाई के कसो गर्दा सुदूरपश्चिमको समृद्धिको आधार बनाउन सकिन्छ ? समयमै सोच्ने बेला भएको छ । जैविक विविधता, दुर्लभ तथा सुन्दर प्राकृतिक सम्पदाहरूको संरक्षण गर्नु नै महत्वपूर्ण कुरा हो । यो त सिङ्गो धर्तीकै लागि अत्यन्त महत्वपूर्ण कार्य हो । अझ अन्य क्षेत्रमा पनि यस किसिमका निकुञ्जहरू स्थापना गर्नु जरुरी छ ।

खप्तड धार्मिक क्षेत्रको विकासको लागि पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोषजस्तै ‘खप्तड धार्मिक क्षेत्र विकास कोष’ को गठन गर्नु उपयुक्त देख्छु । निकुञ्जलाई प्रभाव नपारी धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक पर्यटनको पनि विकास गर्नुपर्दछ।

त्यसको  लागि वातावरणमैतृ अर्थात् दिगो विकासको मोडेल र मापदण्डभित्र रहेर केही पूर्वाधारहरूको विकास गर्नु आवश्यक  । यातायात, होटल, सुरक्षाचौकी, शौचालय, विश्राम स्थलहरू आदिको स्थापना गर्नुपर्दछ । तीर्थस्थल, नदीनाला, बाटोघाटो र वस्ती आसपास खुल्ला दिशा र प्लास्टिक मुक्त क्षेत्र घोषण गर्नु पर्दछ। अहिलेसम्म वास्तवमै भिल्लको देशमा मणी भएको छ खप्तड ।

जेष्ठ ११ गते शुक्रबार बिहान ६ बजेदेखि साथीहरूको चहलपहल सुनियो। आफूले पनि मुख धुने, झोला तयार गर्ने काम समयमै गरियो । यात्राको संक्षिप्त समीक्षा र आयोजकहरूबाट बिदाइ गर्ने कार्यक्रम भयो। प्रस्थान गर्ने क्रममा साइकल यात्रीहरूले निकुञ्जको क्वाटरदेखि करिब ३ सय मिटर दूरीको ८० डिग्री भिरालो बाटोमा साइकल चलाएर रोमाञ्चक स्टन्ट देखाए।

केवल यो दुई दिन मात्रको बसाइपछि पनि छुट्न गाह्रो हुने रहेछ । बाटोका सबै पाटनहरू कटेर उकालो लाग्न थाल्दा पुनः टङलङ टङलङ गर्दै घोडा आइपुग्यो। उही खगेन्द्र कडायतजी मलाई विचपानीसम्म घोडामा पुर्‍याउन आउनु भएको रहेछ– बल्ल बल्ल घोडा समातेर। आफ्नै घोडा भए पनि खुला चरिरहेको अवस्थामा समात्न मुस्किल पर्नेरहेछ।

धन्य आयोजक। हिजोको खसी काण्डपछि कडायतजीसँग रिसाएको थिएँ। उनले बद्माशी गरेको ठानेको थिएँ । किन यसो गरेको भनेर केरकार गरेँ। तर, सफाइको लागि कुनै प्रतिवाद गरेनन्। होटलमा बसेको आफ्नो जेठानले कुरा नबुझ्दा आफूलाई नहुनु लाभ भएको बताए। उनी आफैं धेरै दुःखी थिए। उनले यो कुरा मलिन स्वरमा भने।

सुदूरपश्चिमेली जनता अत्यन्त निमुखा पाएँ। जे पनि चुपचाप सहने अर्थात् प्याच्चपुच्च ठूलो स्वरमा कहिल्यै नबोल्ने। स्वयम् कार्यक्रमका संयोजकज्यू पनि त्यस्तै निमुखा हुनुहुन्थ्यो। पण्डित भइकन पनि अति थोरै बोल्ने स्वभाव। जतिखेर पनि चुपचाप। यताको अनुशासित सामाजिक संस्कार एवं सामाजिक पद्दति अनुकरणीय लाग्यो । सरल र असल रहेछ सुदूरपश्चिम। यी कडायतजी बिचपानी अझसम्म पनि आइपुगेका रहेनछन्।

कारण यस्तो रहेछ, ‘हामी तीन भाइ थियौं। मेरा दुई जना भाइहरू माटो खन्दा ढिस्कोमा पुरिएर मरे सर। अहिले म बुबा आमाको म एक्लो सन्तान। त्यसैले उहाँहरूले मलाई घर छाडेर टाढा कतै पनि जान दिनु हुन्न। आजचाहिँ उहाँहरूलाई नभनी हिँडेको, हजुरलाई दुःख भयो होला भनेर पुर्‍याउन आएको।’ मैले यो बुझेँ कि सुदूरपश्चिम दिमागले होइन, भावनाले चल्दोरहेछ ।

बिचपानी आइपुगेपछि उहाँलाई सधन्यवाद फिर्ता गरेँ। अधिकांश साथीहरू आइपुगिसक्नु भएको रहेछ। बाँकी साथीहरूलाई पर्खिदै बिसायौं। मलाई त थकाइ थिएन। बरु जिउ दुखाइ थियो। अब यसपछि त हरर ओरालै–ओरालो । बास दिपायल पुग्ने लक्ष्य थियो। सिलगढी कटेपछि थाहा भयो, सिजनको कारण दिपायलका सबै होटलहरू प्याक रहेछन्।

अलि माथि गाउँमा रहेको कर्मचारी प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा बास बस्यौं। सरकारी गेष्ट हाउस भइकन पनि अति राम्रो व्यवस्था। सेती किनार आइपुगपछि बल्ल लेकको चिसोबाट छुट्कारा पाइयो । मोबाइलको नेटवर्क पनि राम्रैगरी लाग्न थाल्यो।

जेठ १२ गते शनिवार त्यहाँबाट बिहानै प्रस्थान गर्‍यौँ । डोटी उद्योग वाणिज्य संघले दिपायलमा हामीलाई विदाइ गर्ने छोटो कार्यक्रम राख्यो । केहीबेर त्यहाँ समय लाग्यो । बाटोमा केही ठाउँ तीर्थाटन पनि गर्दै हुइँकियौं। अमृतजीले समय मिलेमा डडेलधुराको उग्रताराको दर्शन गर्ने कुरा सोच्दै हुनुहुन्थ्यो तर समय अभावले पूरा भएन।

सबै साथीहरू यही बसमा सरासरी काठमाडौं जानुहुने भयो तर मचाहिँ टोपेन्द्र सरसँगै धनगढी बस्ने भएँ। भोलि बिहान मात्र फ्लाइटमा काठमाडौं उड्ने भएँ। साँझ ८ बजेतिर अत्तरिया पुगियो। एक हप्ताभरि सँगसँगै सहयात्रा गरिएको प्रिय साथीहरू मन नलागी नलागी ‘बाइ बाइ, सि यू’ भन्दै छुट्टिनु पर्‍यो।

हामी एउटा टेम्पो चढेर धनगढीतर्फ लाग्यौं। निकै राम्रो होटलमा मिठो खाना खाइयो। बास बस्न भने अर्को होटलमा लानुभयो। होटल डिभोटी रहेछ। अत्यन्त सुविधा सम्पन्न।

शिक्षा, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशील टोपेन्द्र शाहजी अत्यन्त शिष्ट र लोकप्रिय बौद्धिक व्यक्तित्व हुनुहुँदोरहेछ। मेरो बासको व्यवस्था मिलाइसकेपछि उहाँ बिदा हुनुभयो। भोलि बिहान उहाँको विद्यालय कैलाली विद्या निकेतनमा विद्यार्थीहरूसँग अन्तर्क्रियात्मक कार्यक्रम पनि रहेछ।

जेठ १३ गते आइतबार बिहान ८ बजेतिर विद्यालयको कार्यक्रम सुरू भयो। ८:३० को फ्लाइट रहेछ। भ्याउन झन्डझन्डै मुस्किल पर्‍यो । टोपेन्द्र सरले भनसुन गरेर कुरा मिलाउनु भयो। मलाई बोर्डिङ पास गराइसकेपछि बिदा हुनुभयो।

म पौने ९ बजे धनगढीबाट काठमाडौं उडें। वास्तवमै आफ्नो एउटा ड्रिमल्याण्ड पुगेर आइयो। अमृतजी, हेमन्तजीहरू अत्यन्त चौडा छाति भएका सच्चा मित्रहरू । अत्यन्त सज्जन र सिर्जनशील युवाहरूलाई खप्तड घुमाएर ज्यादै राम्रो काम गर्नुभयो । सहृदयी यी साथीहरूसँग पर्यटन प्रवर्द्धनको लागि यस्तै यात्रा गर्ने मौका मिलिरेहे जीवन अरू सार्थक हुने थियो।

बिहानको १० बजेको जहाज काठमाडौंमा अवतरण भयो। ट्याक्सी चढेर आफ्नो निवास सातदोबाटो नखिपोटतिर लागें। खप्तड यात्राको क्रममा सञ्जीवनीयुक्त स्वच्छ हावा खाने बानी परेकोले होला यो सहरको प्रदुषित हावा कस्तोकस्तो लाग्यो। तर, यही हो हाम्रो वास्तविकता।

खप्तडको त्यो यात्रा त भुसुक्कै निदाएर झुलुक्क देखेको एउटा मीठो सपनाजस्तो लाग्यो । धूँवा, धूलो, जाम, कोलाहल र भीडमा मिसिँदै कोटेश्वर आइपुग्दा त्यो मीठो सपनाबाट झल्यास्स व्यूझिएँ।

श्रोतः सेतोपाटी

483 पटक पढिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *