
परिचयः
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो “रारा ताल” । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको ठाडो उकालो पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकत्तम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
कसरी जाने रारा ?
रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् । हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा जान सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसकेको छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थ्यो कि त ताल्चा विमानस्थलकै प्रयोग गर्नुपर्ने बाध्यता थियो तर, अहिले रारा जान १० दिन हिड्नु पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ ।
काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन तर सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगाबाट सिन्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ । गमगढीबाट हिडेर २/३ घन्टामा रारा पुग्न सकिन्छ । जुम्ला सदरमुकाम खलंगा देखि मुगु सदरमुकाम गमगढी सम्म जान आउनको लागि अनुमानित २५ हजार रुपैयाँ सम्म गाडीले लिन्छ । तर, जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहेक पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ । त्यसका पनि फोरव्ह्विल गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ ।
हवाई मार्गबाट रारा पुग्ने हो भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राझा विमानस्थलबाट र सुर्खेत विमानस्थलबाट मुगुको ताल्चा विमानस्थल सम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ ।
तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगञ्ज जाने । नेपालगञ्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ । ताल्चा विमान्थलबाट भने दुई घन्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसेर पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ ।
तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन । रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नु पर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्मबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । यदि तपाइ जुम्ला सदरमुकाम खलंगाबाट रारा यात्रा पैदल गर्न चाहनुहुन्छ भने जुम्ला सदरमुकामबाट ठाडो उकालो करिब तीन घन्टाको हिडाइमा डाँफे लेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ । डाँफे लेकबाट जुम्लाको ठूला ठूला पाटन देख्न सकिन्छ । पाटनमा भेडा चरेको मनोरम दृष्यले खुट्टा दुखेको अनुभव नै हुँदैन । डाँफे लेकबाट करिब एक घन्टाको हिडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ । जहाँ चिया नास्ताको लागि एक २/३ वटा होटल मात्रै छ । जहाँ जडिबुटी मसला मिसाइएको चियाको स्वादमा चिया खान पाइन्छ ।
खालीचौरबाट बिस्तारै हिड्दै हिड्दै काभ्रा पुग्न सकिन्छ । काभ्रामा पडाडको डिस्कामा खोपिएको स–सना पुरानै शैलीका घरहरु हेर्न पाइन्छ । त्यहाँबाट एक घन्टाको पैदल यात्रापछि जुम्लाको चौथा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट पनि एक घन्टाको उकालो हिडेर जुम्लाकै भुलभुले पुगिन्छ । भुलभुलेमा भने सवारी आवतजावत राम्रै छ । भुलभुलेपछि रारा राष्ट्रिय निकुन्जको चेक पोष्ट सुरु हुन्छ । चेकपोष्टबाट करिब एक सय मिटर अगाडी बढ्ने बित्तिकै दुईवटा बाटाहरु आउँछन । जहाँबाट गएपनि रारा पुग्न सकिन्छ । वायापट्टि लाग्दा अग्ला अग्ला डाडाँ पार गर्दै रारा पुग्न सकिनछ । तर, अर्को बाटो लाग्दा भने झ्यारी भने ठाउँमा पुग्न सकिन्छ । झ्यारी पुग्न भने सहज बाटो छैन । जंगलको बाटो सिधै ओरालो झर्नु पर्छ । झ्यारीमा खाना नास्ताका लागि होटल पनि पाइन्छ । झ्यारीबाट भने करिब तीन घन्टाको यात्रा पछि रारा नजिकैको पाटनमा पुग्न सकिन्छ ।
कति खर्च लाग्छ ?
रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने प्रति व्यक्ति २०००० देखि २५००० हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट ३०००-३५०० सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जूम्ला सदरमुकाम बसाइका लागि प्रति व्यक्ति एक हजार रुपैयाँमा खाना सहित बास पाइन्छ । त्यहाँबाट राराताल सम्म हिडेर दुई दिन (राम्रो हिड्न सक्ने मान्छेहरु एकै दिनको पनि रारा पुग्न सक्छन्) मा पुग्नका लागि प्रति व्यक्ति तीन हजार रुपैयाँ भए पुग्छ ।
रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा प्रति व्यक्ति दुई हजारले पुग्छ । फेरि सोही रुटमा पर्किदा करिब १७ हजारमा काठमाडौ आइपुगिन्छ । होइन म फर्कदा हवाई यात्रा गर्छु भनेपनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगञ्जको राझा विमानस्थल नेपाल एयरलाइन्सबाट ४२ सय देखि ५ हजार रुपैयाँ सम्ममा आउन सकिन्छ भने प्राइभेट एयरलाइन्सहरुले मनोमानी भाडा असुलेको पनि देखिन्छ र कुनै समय टिकट पाउन पनि गाह्रो हुने अवस्था हुन्छ । नेपालगन्जमा दूई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन ।
रारा जान उपयुक्त समय कहिले ?
रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटर गहिराईसम्म हिउँ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपाली पर्यटकहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् ।
समयः स्थलमार्ग प्रयोग गर्दा
पहिलो दिन – काठमाडौं-बुटवल, दोश्रो दिन – बुटवल-कालिकोट, तेश्रो दिन – कालिकोट-रारा ताल हुदै ३ दिनको स्थलमार्गबाट पुग्न सकिन्छ ।
हवाई मार्ग प्रयोगः
हवाई मार्ग प्रयोग गरेर रारा घुम्न जादै हुनुहुन्छ भने सबभन्दा सजिलो यात्रा नेपाल एयरलाइन्स सहित अरु १/२ वटा एयरलाइन्सको काठमाडौं-राराको सिधै उडान मार्फत पनि जान सकिन्छ । यदि सो एयरलाइन्सहरुको टिकट नपाइए काठमाडौं-नेपालगञ्ज र नेपालगञ्जबाट ताल्चा एयरपोर्टको लागि अर्को बदलिएर पनि पुग्न सकिन्छ । ताल्चा एयरपोर्टबाट १-१ः३० घन्टाको पैदल यात्रापछि रारा पुगिन्छ ।
रुटः
काठमाडौं-नारायणघाट-बुटवल-नेपालगञ्ज कोहलपुर-सुर्खेत-कालिकोट मान्म-पिलि-नाग्म-सिंजा उपत्यता हुँदै स्थलमार्बाट रारा ताल पुग्न सकिन्छ ।
मुख्य आकर्षणः
उच्च स्थानमा रहेको हरियाली घना वनजंगल (रारा राष्ट्रिय निकुञ्ज)को बिचमा अवस्थित शान्त राराताल वरीपरि विभिन्न हिम श्रृखंलाको रमणिय दृश्यहरु हेर्न सकिने ।
बजेटः बजेट रकम तपाइहरुले प्रस्थान गर्दा कुन मार्ग प्रयोग गर्नुहुन्छ त्यसमा निर्भर रहन्छ । तपाइहरुको स्थल मार्गको प्रयोग गर्नुहुन्छ भने काठमाडौं देखि मुगुसम्म एकतर्फि यात्रा गर्दा सार्वजनिक साधन प्रयोग गर्दा ३०००-३५०० सम्ममा मुगु पुग्न सकिन्छ । जम्मा अनुमानित लागत अनुमान प्रति व्यक्ति २०००० देखि २५००० सम्म छुट्याउनु पर्ने हुन्छ ।
यदि तपाई हवाई यात्रा प्रयोग गर्नुहुन्छ भने काठमाडौं-नेपालगञ्ज ५६०० देखि ९००० सम्म र नेपालगञ्ज-ताल्चा एयरपोर्ट मौसम र यात्रु अनुसार ४५०० देखि १०००० सम्म टिकट दर लाग्न सक्छ र सोही अनुसार रकमको जोहो गरेर रारा ताल सम्म पुग्न सकिन्छ ।
भिडियोः